काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सञ्चालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम प्राधिकरणले पहिलो पटक बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालयमा बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ गरेका हुन् । अध्यक्ष सिलवालले प्राधिकरणबाट सञ्चालित परीक्षामा सफल भई इजाजत प्राप्त गर्ने बीमा सर्भेयरको कार्य गुणस्तरयुक्त एवम् प्रभावकारी हुने र त्यसबाट बीमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरे ।
प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित परीक्षामा भाग लिन प्राधिकणबाट यसअघि आयोजित बीमा सर्भेयर तालिममा सहभागी भएको तर इजाजत नलिएका सर्भेयरमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २८ जनाले आज सञ्चालित बीमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन सब्मिट गरेका थिए । सर्भेयरको अनलाइन परीक्षाको रिजल्ट सात दिनभित्र प्रकाशन गरिनेछ र परीक्षामा उत्तीर्ण भएकालाई बीमा सर्भेयरको इजाजत प्रदान गर्ने बताइएको छ ।
अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक कमलप्रसाद रेग्मी, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र निर्देशक दिनेशकुमार लालको उपस्थिति रहेको थियो ।