काठमाडौँ । संविधान दिवस, २०८० का अवसरमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।
बुधबार मूल समारोह समितिले सैनिक मञ्च .टुँडिखेल)मा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानप्रति सबैको सच्चा सम्मान र समर्पणले नै देशलाई समृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले संविधानका आधारस्तम्भहरू क्रमशः सवल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएकाले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको स्पष्ट गरे ।
सरकारले स्वास्थ्य पूर्वाधार एवं सेवाहरूको विस्तार र सृदृढीकरण गरी महामारी नियन्त्रण तथा विपद् व्यवस्थापन एवं न्यूनीकरण गर्न सक्दो प्रयास गरेको र डेङ्गु रोग फैलन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्यून गर्न आवश्यक तयारी गरिरहेको कार्यवाहक प्रधानमन्त्री खड्काले बताए । बाढी, पहिरोजस्ता विपद्का कारण भएको धनजनको क्षतिमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि प्रदेश र स्थानीय तहसमेतको समन्वयमा काम गरिएको उनले उल्लेख गरे ।
संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको उल्लेख गरे । उनले संविधान दिवसका अवसरमा कुनै आग्रह र पूर्वाग्रह नराखी देश र जनताको बृहत्तर हितलाई सर्वोपरी ठान्दै विकास र समुन्नतिमा जुट्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबैमा आग्रह गरे ।
कार्यवाहक प्रधानमन्त्री खड्काले भने, “आजको दिनले विशेषतः युवाहरूमा हाम्रो संविधानको सङ्कल्प र सपनाबारे गहिरो ज्ञान तथा प्रेरणाको सञ्चार गरोस् । सुशासन, समृद्धि र सामाजिक न्यायको हाम्रो यात्रामा सबैलाई थप ऊर्जा र हौसला देओस् ।”