न्युयोर्क, वैशाख २३
कोरोना भाइरसको महामारीका कारण अमेरिकाको सर्वोच्च अदालतले फोनबाटै सुनुवाइ सुरु गरेको छ । सम्भवतः यो अभ्यास विश्वमै पहिलो पटक भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । मानिसको भौतिक उपस्थिति विना फोन मार्फत् आवाज मात्रै पु-याएर सुनुवाई गरिएको घटनालाई अनौठो घटनाका रुपमा लिइएको छ ।
कोरोनाभाइरस संक्रमणको त्रासका कारण सुनुवाइको परम्परागत शैली परिवर्तन गरेर यस्तो नयाँ शैली अपनाउनु परेको हो । अदालतको सुनुवाई कक्षमा कोरोनाभाइरसको संक्रमणको खतरा बढी भएको अधिकारीहरूको भनाइ छ । अदालतमा विशेष गरेर छ जना न्यायाधीश ६५ वर्ष वा सोभन्दा बढी उमेरका भएकाले संक्रमणको खतरा बढी रहेको ठानिएको हो ।
फोनबाटै सुनुवाइ गर्ने अभ्यासको सुरुवात सोमबारदेखि गरिएको छ । सुुनुवाईका क्रममा एउटा पक्षले बोल्दा अर्को पक्षले पनि सुन्न मिल्ने पनि बनाइएको अधिकारीहरुको भनाइ छ । सोमबार पहिलो पटक भएको सुनुवाइमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको मुद्दामा बहस भएको थियो । फोनबाट भएको सुुनुवाई अरु दिन जस्तै सोमबार पनि बिहान १० बजेदेखि नै सुरु भएको थियो ।