विराटनगर । नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएको बताएका छन् ।
कोशी प्रदेश सरकारद्वारा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘संविधान दिवस-२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उनले नेपालको वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको बताए ।
कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नुपर्ने धारणा राखे ।
उनले संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्दै लोकतन्त्र स्थापनामा सहिद भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे । सो अवसरमा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले संंविधानको कार्यान्वयन, अवसर र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
संविधान दिवसको अवसरमा संविधान कार्यान्वयन, अवसर र चुनौतीका विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी छात्रातर्फ प्रथम एन्जल राई, द्वितीय स्वीकृति अधिकारी र तृतीय उषासिंह कार्की तथा छात्रतर्फका प्रथम, द्वितीय र तृतीय क्रमशः सुभम ढकाल, सफल तिमल्सेना र अनुपम काफ्लेलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले पुरस्कार वितरण गरेका थिए । पुरस्कारको राशि प्रथम रु. पाँच हजार, द्वितीय रु. चार हजार र तृतीय रु. तीन हजार रहेको छ ।
सो समारोहमा कोशी प्रदेश सरकारका मन्त्री, उपसभामुख, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश, सुरक्षा निकायका प्रमुख, संसदीय दलका नेता, सांसद एवं मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।