काठमाडौं, वैशाख २४
छिमेकी भारतमा लकडाउन खुकुलो बनाउँदा २४ घण्टाको अवधिमा चार हजार कोरोना संक्रमित थप भएर दुई सय जनाको मृत्यु भएको समाचार सार्वजनिक हुनासाथ नेपालले पनि लकडाउनलाई निरन्तरता दिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो । यद्यपि कति दिन लकडाउनलाई निरन्तरता दिने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकले नै गर्नेछ । मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्नेछ ।
उद्योगी तथा व्यवसायीहरुले काठमाडौं उपत्यकालगायत कोरोना संक्रमण नदेखिएका जिल्लाहरुमा लकडाउन खुकुलो गर्नुपर्ने माग गरिरहेको बेला सरकारले भने पास भएका गाडीहरुलाई पनि काठमाडौं उपत्यकामा प्रवेश गर्न नदिने नीति लिएको छ । मंगलबार मात्रै काठमाडौं छिर्ने प्रयासमा रहेका सयौं गाडीहरुलाई नागढुंगाबाट प्रहरीले बाहिर नै फिर्ता गरिदिएको छ ।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरू सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको सञ्चारकर्मीलाई जानकारी दिए ।
‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको सङ्क्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र सङ्क्रमणको अवस्थाका विषयमा छलफल भएको छ, लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी सङ्क्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बैठकले निकालेको छ’, बैठकपछि सचिव बिडारीले भने । बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहन लकडाउन नै उपयुक्त भएको ठहर गरेको थियो ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार लकडाउन खुकुलो पार्दा भारतमा संक्रमणको दर तीव्र भएको कारण काठमाडौंलगायतका क्षेत्रमा कोरोना संक्रमण नदेखिए पनि खुकुलो बनाउन समस्या परेको हो । काठमाडौंमा सबै जिल्लाका मानिसको बसोबास रहेको कारण सरकारले थप सतर्कता अपनाउँदै गाडी नै प्रवेश गर्न नदिएको हो । यद्यपि केही हिमाली र पहाडी जिल्लामा खुकुलो गर्न सकिने मंगलबार उद्योगी/व्यवसायीसँगको भेटमा उद्योग मन्त्री लेखराज भट्टले जानकारी दिएका छन् । उनले उद्योगहरु पनि खोल्न सकिने बताएका छन् । गृहमन्त्री रामबहादुर थापाले पनि मंगलबार नै संसदीय समितिको बैठकमा लकडाउनको मोडालिटीमा परिवर्तन गरिने बताएका छन् ।
सरकारले नागढुंगाबाट प्रवेश गर्न नदिए पनि सीतापाइला–धार्के सडकबाट लुकीछिपी काठमाडौं प्रवेश गर्ने प्रयास गरेका छन् । उक्त सडक खण्डमा अहिले ग्राभेल गर्ने काम भइरहेको छ । काठमाडौंको प्रशासनले भने नागढुङ्गाको साथै फर्पिङ, मुड्खु, जगाती, जरसिङपौवा, गुर्जेभन्ज्याङ नाकालाई थप कडाइ गरेको छ ।
विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार पाँच सय हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै चार सय सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीन जना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरू सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरू बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।
कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो । समितिले लकडाउनको अवधि बढाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको कारण २५ गतेपछि लकडाउन थप कडा हुने देखिएको छ । यद्यपि पहाडी र हिमाली जिल्लामा खुकुलो हुने सम्भावना पनि प्रबल छ ।
कोरोना संक्रमितको संख्या ८२ पुग्यो - बाँकेमा सात जनामा थपिए,समुदायस्तरमा स्वाब सङ्कलन सुरु :
प्रदेश नम्बर ५ को बाँकेको नेपालगञ्जमा पुनः मंगलबार सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको हो । २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिलामा कोरोना देखिएको हो । योसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण देखिएको छ । यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, डब्ल्युएचओ र प्रदेश सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा मंगलबार बेलुका ५ बजेदेखि वडा नं ८ का भैरव टोल, रानीतलाउको सब्जीमण्डी, नाउ टोल, पण्डन मोहला तथा टाँगा स्टेसन आसपासका क्षेत्रबाट स्वाब सङ्कलन सुरु गरिएको छ ।
कोरोना सङ्क्रमित वडा नं. ८ का पाँच स्थानबाट समुदायस्तरमा स्वाब सङ्कलन सुरु गरिएको हो । उक्त वडाको जोलाहनपुर्वा टोलमा मात्रै २३ जना सङ्क्रमित फेला परेपछि वडाका विभिन्न स्थानबाट समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । गत शुक्रबारदेखि मङ्गलबारसम्मका अवधिमा उक्त क्षेत्रका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले बाँकेलाई रेड जोनमा राखिएको छ ।
प्रदेश २ मा थप कडाइ : सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलिनसक्ने खतराका दृष्टिले प्रदेश नं. २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरूपमा अगाडि बढाएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उक्त प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारीरूपमा लागू गरी सीमा सतर्कता बढाइएको छ ।
भारतीय सीमासँग जोडिएको प्रदेश नं २ का आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर छ । सो क्षेत्रमा ३२९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा व्यापक कडाइ गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश नं २ प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको हो । लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दूरी कायम गर्नेमा सुधार हुँदै आएको प्रदेश नं २ प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश नं २ मा अहिलेसम्म कोरोना पोजेटिभको सङ्ख्या १० पुगेको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किसकेको र उनको आरडीटी परीक्षण गर्दा पुनः कोरोना पोजेटिभ देखिएको थियो । ती १० जनाको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचार भइरहेको छ । हाल प्रदेश नं २ मा आइसोलेसनमा ३० र क्वारेन्टाइनमा एक हजार १५७ जना रहेको जनाइएको छ । लकडाउनको अवहेलना गरी बाहिर निस्किने ७ सय ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लकडाउनको पालना नगरेको ६ हजार ६ सय ७० वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रदेश नं २ रेडजोनमा आएपछि लकडाउनलाई पूर्णरूपमा पालना गराउन कडाइ गरिनाका साथै सीमा क्षेत्रमा समेत कडाइ गरिएको छ ।