काठमाडौँ । गए राति ७६ वर्षको उमेरमा पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ‘क्यान्सर’ रोगबाट निधन भएको छ । ‘मायालु’ को वीर अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ छविलाल भट्टले जानकारी दिए ।
२०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालु नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा विसं २००४ मा जन्मिएका उनले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका थिए । पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका थिए ।
तत्कालीन सरकारले विसं २०४२ को बम काण्डपछि उनको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए । यसअघि नै श्रीमतीको मिर्गौला रोगका कारणबाट निधन भइसकेको थियो । पशुपति आर्यघाट उनको आजै अन्त्येन्टि गरिने छ । उनका दुई छोराहरु छन् ।