काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै कम हुँदै गएको बताएका छन् । अर्थतन्त्र चलायमान बनउन अप्ठ्याराहरू हटाउँदै गएको दाबी समेत गरे । निक्षेप तथा कर्जा सुरक्षा कोषको ५०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले आफ्नो ठाउँबाट पहल गरिरहेको र निजी क्षेत्रले पनि सकारात्मक भाइब फैलाउनुपर्ने बताएका हुन् ।
‘समस्या सम्बोधनका लागि सरकारले पहल गर्ने काममा कमी हुन दिनेछैन, सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन्’, उनले भने, ‘पर्यटक आगमन बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ । अर्थतन्त्रमा रिसोर्स आइरहेको छ, तर चलायमान भएको छैन’, उनले भने, ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ । खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौँ । बैंकहरूले लगानी नगरून्, पैसा थुपारून्, राखून् भन्ने जुन नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’
अब अर्थतन्त्रमा रिर्सोस भएकाले यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्ने कुरा महतले बताए । ‘आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ, राजस्वमा परेको दबाब अन्त्य हुन्छ’, उनले भने ‘राजस्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ ।’
चार करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोषले सुरक्षा दिइरहेको मन्त्री महतले बताए । उनले भने, ‘यसको पहुँच विस्तार भइरहेको छ । साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दूरदराजमा रहेका निम्नवर्गको पहुँचमा यसले कार्यक्षेत्र विस्तार गरेको छ ।’
अर्थमन्त्री महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
‘सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सूचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगारजस्ता कार्यक्रमलाई यसले सेवा विस्तार गरेको छ’, डा. महतले भने, ‘जब हामी लगानी गर्छौँ, अवश्य पनि जोखिमपूर्ण हुन्छ । त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिकामा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ । साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना गर्छ ।’
अर्थमन्त्री महतका अनुसार साना–साना कर्जा प्रवाह हुन्छ, साना–साना उद्योग स्थापना हुन्छ । त्यसले ज्यादा रोजगारी सिर्जना हुन्छ । साना धेरै छरिएर रहेका व्यवसायले धेरै रोजगारी सिर्जना गर्छ । यो रोजगारी आम सर्वसाधारणले प्राप्त गर्छन् ।
‘यो परिवर्तनको समय हो, प्रविधिको नयाँ–नयाँ विकास भइरहेको छ । डिजिटल एकाउन्टिङको हामीले कुरा गरिरहेका छौँ । आईटीमा जुन क्रान्ति आएको छ, त्यसले ट्रानजेक्सनको कस्ट घटाएको छ’, उनले भने, ‘यसलाई हामीले ग्रहण गर्न जरुरी छ । कर्जा सुरक्षा कोषले यो काममा अग्रणी भूमिका खेल्नेछ । यसले उच्च व्यावसायिकताका आधारमा काम गर्छ भन्ने सरकारले विश्वास लिएको छ । यसको सेवा विस्तार हुनुप-यो ।’