काठमाडौं । दोलखाको लामाबगरमा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन दिने समय थप भएको छ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले बिहीबार एक सूचना जारी गरी असोज २२ गतेसम्म हकप्रद सेयर भर्ने समय थप गरेको जानकारी दिएको हो ।
यसअघि कम्पनीले भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदन दिने समय तोकेको थियो । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् शत प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । सेयरधनीले १ः१ को अनुपातमा आवेदन दिन सक्नेछन् । गत वर्ष २०७९ साल भदौ ३ गते बसेको १४औँ साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पुँजी १० अर्ब ५९ करोड बराबरको प्रतिसेयर रकम सय अंकित दरको १० करोड ५९ लाख कित्ता साधारण सेयरको हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार कम्पनीले हकप्रद निष्काशन गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
सेयरधनीले माथिल्लो तामाकोशी जलविद्युत्् केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । यस्तै, कम्पनीले स्थानीयवासीले भने डिम्याट खाता नभए पनि हकप्रद सेयर भर्न पाउने प्रावधान बनाएको छ । कम्पनीले आयोजनाको ऋण चुक्ता र रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माणका लागि शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।