काठमाडौँ । विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने गरी कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् । कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्याउन सरकारी वार्ता टोलीलाई आवश्यक निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
शुक्रबार बिहान रक्षा मन्त्रालयमा उनले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसँग छलफल गरेका थिए ।
शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी शुक्रबारको बैठकमा वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।