काठमाडौं । ह्वावेले आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षामन्त्रीको संगठन (सीमईयो)सँगको सहकार्यमा ‘सिड्स फर द फ्युचर समिट–२०२३’ को आयोजना गरेको छ ।
ह्वावेको पहलमा एसिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि ‘कनेक्ट, कल्टिभेट, कन्ट्रिब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसियाप्यासिफिक’भन्ने नारालाई सार्थक बनाउन सो समिट आयोजना गरेको हो ।
समिटमा १९ एसिया प्यासिफिक देशका ९१ जना सहभागीहरूले भाग लिएका थिए । नेपालका पनि चार जनाले सो समिटमा भाग लिएको कम्पनीले जनाएको छ । यस सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, ह्वावेको विश्वस्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिक चीनको अनुभव समावेश थियो ।
यस्तै, सम्मेलनमा ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले एसिया–प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छ वटा प्रमुख क्षेत्रहरू आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशी पूर्वाधार, डिजिटल क्षमता निर्माण, युवती तथा युवा सशक्तीकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहँदै संयुक्त घोषणा गरेका थिए । कार्यक्रम आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा पिटी श्रीसंगनमको नेतृत्वमा प्यानल छलफलद्वारा समापन गरिएको थियो ।
‘सीड्स फर द फ्युचर’ ह्वावेको पहलमा सञ्चालित कार्यक्रम हो, जहाँ भविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्तालाई प्रविधि र अन्तर–सांस्कृतिक अनुभवहरूका साथै टेक फर गुड परियोजनाहरूमार्फत सामाजिक समस्यालाई सम्बोधन गर्न सहयोग प्रदान गर्ने लक्ष्यका साथ सञ्चालित रहेको बताइएको छ ।