काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का उत्पादनहरू खरिद गर्नका लागि आधिकारिक डिस्ट्रिब्युटर्सलाई आवश्यक चालू पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ । बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटर्सले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ डाइरेक्टर दीपक सेन्थिलनाथलगायत दुवै संस्थाका वरिष्ठ अधिकृतको उपस्थिति रहेको थियो । ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० वटा शाखा कार्यालय, तीन सय ६९ वटा एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।