काठमाडौँ । आइतबार आन्दोलनलाई जारी राख्दै राजधानीमा राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले प्रदर्शन गरेका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म शनिबार पनि विरोध प्रदर्शन गरिएको थियो ।
आइतबार देशभरका विद्यालयमा नियमित पठन(पाठन भइरहेको छ। नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन सहमतिमा टुंगिएर शिक्षकहरू विद्यालय फर्किएका छन्।
आइतबार बिहान १०ः३० बजे माइतीघर मण्डलामा थप सशक्त प्रदर्शन गर्न अनिवार्य उपस्थित हुन सबै शिक्षक कर्मचारीलाई समितिले आग्रह गरेको थियो । राहतलगायत शिक्षकहरूले भने आफ्ना मागहरू अझै पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन्।
शुक्रबार सरकारसँग महासंघले गरेको सहमतिमा असन्तुष्टि जनाइरहेका उनीहरूले आइतबार पनि माइतीघरमा प्रदर्शन गरेका छन्।
विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलन गर्न आएका शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि राहत, पेन्सन बञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आवद्धलगायत शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन्।