काठमाडौं । महँगीले उपभोग्य वस्तुको माग घटेपछि आन्तरिक अर्थतन्त्र दबाबमा छ । नेपाली बजारमा अधिकांश वस्तुको आपूर्ति आयातबाट हुन्छ । तर, पछिल्लो समय उपभोग घटेपछि आयात पनि खुम्चिँदै गएको छ । नेपालमा चाडपर्वलक्षित सामग्रीको आपूर्ति बढ्दा विगतका वर्षमा भदौदेखि आयातको आकार पनि बढ्ने गरेको थियो । तर, यस आर्थिक वर्षको भदौ महिनामा आयात नबढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
भदौमा साउनको तुलनामा आयात एक अर्ब रुपैयाँले मात्रै बढेको देखिन्छ । साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपैयाँको आयात भएकोमा भदौमा एक खर्ब ३० अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ । साउनको तुलनामा भदौमा निर्यात घटेका कारण व्यापारघाटा करिब दुई अर्बले बढेको छ । गत आर्थिक वर्षको तुलनामा भदौमा १२ अर्ब रुपैयाँको कम आयात भएको छ । गतवर्ष भदौमा एक खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको थियो ।
आयात कम हुँदा विदेशी मुद्रा सञ्चिति मजबुत रहन मद्दत गर्छ । तर, कच्चापदार्थदेखि उपभोग्य वस्तुको अधिकांश हिस्सा आयातबाटै पूरा गर्नुपर्ने अवस्थामा आयात घट्दा आन्तरिक अर्थतन्त्रमा भने दबाब पर्छ । बजार चलायमान हुँदैन, आर्थिक कारोबार खुम्चिन्छ र आर्थिक सूचकहरू कमजोर बन्दै जान्छ ।
भन्सार विभागका अनुसार यस आर्थिक वर्षको साउन र भदौमा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ व्यापारघाटा भएको छ । यो घाटा गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चार दशमलव ७४ प्रतिशतले कम हो । गतवर्ष भदौ मसान्तमा व्यापारघाटा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ थियो । बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको र शोधनान्तर घाटा बढ्दै गएपछि सरकारले २०७९ को वैशाखदेखि केही विलासी वस्तुको आयातमा रोक लगाएको थियो भने राष्ट्र बैंकले एक हजारभन्दा बढी वस्तुको आयात गर्दा शतप्रतिशत नगद ‘मार्जिन’ राख्नुपर्ने व्यवस्था गरिदिएको थियो । त्यसपछि आयात घट्न थालेको थियो । सरकार र राष्ट्र बैंकको सो कदमले बाह्य क्षेत्रका सूचकहरू त मजबुत बन्दै गए तर आन्तरिक अर्थतन्त्रमा चाप पर्न थाल्यो । पछि आयात खुलाइयो तर रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी लागत बढ्न गई उपभोग्य वस्तुको भाउ बढेर गयो । यसले उपभोक्ताको क्रयशक्ति घटाएको छ । यही कारण बजारमा आर्थिक कारोबार खुम्चिएर गयो भने व्यापारीहरू वस्तु आयात गर्न डराउने स्थितिमा पुगेका छन् । यसैको परिणाम आयात खुम्चिँदै गएको छ । यसले व्यापारघाटामा पनि कमी आएको छ ।
विभागका अनुसार दुई महिनामा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँबराबरको आयात भएको छ । यो आयात गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा पाँच प्रतिशतले कम हो । गतवर्ष साउन र भदौमा कुल दुई खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको आयात भएको थियो ।
खुम्चियो निर्यात
आयात खुम्चिएसँगै निर्यात व्यापार पनि घटेको छ । खासगरी पाम आयललगायतका वस्तुको आयात घट्दा निर्यात व्यापार पनि घटेको देखिन्छ । नेपाली व्यापारीले तेस्रो मुलुकबाट पाम तेल, सूर्यमुखी तेल आयात गरी प्रशोधन गरेर भारत निकासी गर्दै आएका थिए । यसले निर्यात बढेको थियो । तर, यसवर्ष ती वस्तुको निर्यात पनि प्रभावित भएको छ । यस वर्ष भदौ मसान्तसम्म २६ अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको छ । यो निर्यात गतवर्षको सोही अवधिको तुलनामा सात दशमलव ७९ प्रतिशतले कम हो । गतवर्ष साउन र भदौमा २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको थियो । आयात र निर्यात दुवैमा आएको गिरावटले समग्र वैदेशिक व्यापार घटेको छ भने व्यापारघाटामा पनि कमी आएको छ ।
वैदेशिक व्यापारमा नेपालको निर्यातको हिस्सा नौ दशमलव २४ प्रतिशत र आयातको हिस्सा ९० दशमलव ७६ प्रतिशत छ । कुल निर्यातको तुलनामा नौ दशमलव ८२ गुणा धेरै आयात भएको छ । निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा निर्यात व्यापार खुम्चिन पुगेकाले व्यापारघाटाले निरन्तरता पाउँदै आएको छ ।
भारतसँग सबैभन्दा धेरै व्यापारघाटा
विभागका अनुसार भारतसँगको व्यापारघाटा सबैभन्दा धेरै देखिएको छ । भदौ मसान्तसम्मको तथ्यांकअनुसार भारतसँग एक खर्ब ४४ अर्ब दुई करोड रुपैयाँ व्यापारघाटा भएकोे छ । भारतबाट एक खर्ब ६० अर्ब ७५ करोडको वस्तु आयात भएको छ भने नेपालबाट १६ अर्ब ७३ करोडको निर्यात भएको छ । भारतपछि सबैभन्दा धेरै व्यापारघाटा चीनसँग भएको छ । चीनसँग ४६ अर्ब रुपैयाँको व्यापारघाटा भएको छ । चीनबाट ४६ अर्ब ५४ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट चीनमा ५४ करोड रुपैयाँको निर्यात भएको छ । विभागका अनुसार भारत र चीनपछि व्यापारघाटा धेरै हुने मुलुकमा संयुक्त अरब इमिरेट्स, युक्रेन, मलेसिया, इन्डोनेसिया, मोरक्को, अस्ट्रेलिया, ओमान, अर्जेन्टिनालगायत छन् । नेपालले एक सय ४१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । जसमा एक सय १० भन्दा बढी मुलुकसँग व्यापारघाटा व्यहोर्दै आएको छ ।
करिब ४५ अर्बको पेट्रोलियम पदार्थ आयात
कुल आयातमध्ये पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै छ । पहिलो दुई महिनामा मात्रै ४४ अर्ब ६५ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब पाँच अर्ब रुपैयाँले कम हो । गतवर्ष साउन र भदौमा पेट्रोलियम पदार्थ ५० अर्ब ८८ करोड रुपैयाँको आयात भएको थियो ।
पेट्रोलियम पदार्थमा डिजेल, पेट्रोल र एलपीजी ग्यास सबैभन्दा बढी आयात हुनेगरेको छ । दुई महिनामा १८ अर्ब ४२ करोड रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड रुपैयाँको पेट्रोल र १० अर्ब ४२ करोड रुपैयाँको खाना पकाउने एलपीजी ग्यास आयात भएको छ ।
पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै आयात फलाम र स्टिलको भएको छ । दुई महिनामा २४ अर्ब ४९ करोड रुपैयाँको फलाम र स्टिल आयात भएको छ । फलाम र स्टिलको आयात भने गत आर्थिक वर्षको तुलनामा केही बढेको छ । गत आर्थिक वर्षको भदौ मसान्तमा २४ अर्ब ३५ करोड रुपैयाँको फलाम र स्टिल आयात भएको थियो ।
पेट्रोलियम पदार्थ, फलाम र स्टिलपछि धेरै आयात हुने वस्तुमा विद्युतीय उपकरणहरू छन् । विभागका अनुसार समीक्षा अवधिमा १८ अर्ब ३६ करोड रुपैयाँको विद्युतीय उपकरणहरू आयात भएका छन् । यो शीर्षकभित्र सबैभन्दा धेरै स्मार्टफोन पाँच अर्ब ३६ करोड रुपैयाँको, सुन चार अर्ब १२ करोडको आयात भएको छ । औषधि तथा औषधिसम्बन्धी वस्तु चार अर्ब ११ करोड, कच्चा भटमास तेल दुई अर्ब ९६ करोड, सूर्यमुखी तेल दुई अर्ब ८८ करोड, क्रुड पाम आयल दुई अर्ब ३१ करोडको आयात भएको छ । यस्तै दुई अर्ब ९० करोडको धान आयात भएको छ ।
साढे पाँच अर्बको तरकारी आयात
पाँच अर्ब ३६ करोड रुपैयाँको तरकारी आयात भएको छ । सबैभन्दा बढी आलु एक अर्ब ३३ करोडको आयात भएको छ । त्यसपछि ९५ करोड रुपैयाँको प्याज आयात भएको छ । सुकेको सिमी तथा बोडी ६७ करोडको आयात भएको छ ।
कार्पेट निर्यात सबैभन्दा धेरै
भन्सार विभागका अनुसार गलैँचा, कार्पेट तथा ऊनीजन्य वस्तुको निर्यात सबैभन्दा धेरै एक अर्ब ८९ करोड रुपैयाँको निर्यात भएको छ । त्यसपछि अलैँची एक अर्ब ५० करोडको निर्यात भएकोे छ । सबैभन्दा धेरै निर्यात हुनेमध्ये तेस्रो स्थानमा फलाम तथा स्टिलजन्य वस्तु रहेको छ । भदौ मसान्तसम्म फलाम तथा स्टिलजन्य वस्तु एक अर्ब २३ करोड रुपैयाँको निर्यात भएको छ । यसबाहेक ८७ करोड रुपैयाँको जुस, ७५ करोडको यार्न ४५ लाख रुपैयाँ, चिया ७३ करोड ४४ लाख रुपैयाँ र कुकुर र बिरालोको खाना ५४ करोड ९८ लाख रुपैयाँको निर्यात भएको छ ।
निर्यात भएका अन्य वस्तुहरूमा पाम तेल, सोयाबिन तेल, धागो जिंक सिट, चिया, आयुर्वेदिक औषधि, दन्त मन्जन, तारलगायतका वस्तुको निर्यात भएको छ ।