काठमाडौँ । काठमाडौँ उपत्यकामा ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् । सोमबार काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
चीन अमेरिका दुवै देशबाट २२ जना पाहुना आउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् । अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाउना आउने उनको भनाइ छ । मङ्गलबार सबै पाहुनाहरु आइपुग्नेछ ।
महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो । ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको उनको भनाइ छ ।
असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो । सो दिन बढी भीडभाड हुने भएकाले व्यवस्थापन समितिले विशेष सुरक्षा बढाएको छ । जात्राको शुरूको दिन कान्तिपुरी नगरीको परिक्रमा गर्दै दिव्गत आत्माको चिर शान्तिको कामना गरिने छ । जात्रा अवधिमा हुन सक्ने आगलागीको जोखिमलाई ध्यानमा राख्दै वारुणयन्त्रको समेत व्यवस्था गरिएको छ ।
कार्यक्रमअनुसार असोज ९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा लिङ्गो ठड्याउने, असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ ।
जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ । जात्रामा राष्ट्रप्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ ।