काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । गृह मन्त्रालयमा मंगलबार चिकित्सकहरूसँगको वार्तामा गृहमन्त्री श्रेष्ठले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता जनाएका हुन् ।
चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउने बताए । उनले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह समेत गरे । छलफलमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले सरकारले चिकित्सकले ढुक्क भएर काम गर्ने वातावरण बनाइदिनुपर्ने बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न आग्रह गरे । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले कुनै पनि बहानामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने बताए ।
बैठकले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील पेसामा रहेका व्यक्तिमाथि कुटपिट गर्नेलाई चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने र त्यसका लागि मातहतका निकायमा सर्कुलर जारी गर्ने निर्णय गरेको छ । बैठकले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा भौतिक आक्रमण गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीबाट उपचारका क्रममा कमजोरी भएको अवस्थामा ऐनअनुसार कारबाही हुने सूचना टाँस्ने निर्णय पनि गरेको छ । यसको समन्वय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ । ‘कुनै उपचाररत बिरामीको पक्षलाई ठीक ढंगले उपचार नभएको वा कमजोरी भएको भन्ने लाग्यो भने त्यसबारेमा अनुसन्धान गर्ने ठाउँ छ, बिरामी पक्षका तर्फबाट उजुरी ग¥यो भने अनुसन्धान हुन्छ, चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गल्ती भएमा कारबाही हुने प्रावधान सोही ऐनमा छ’ गृहमन्त्री श्रेष्ठले भने ।