ल्हासा (चीन) । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइपुगेका छन् ।
प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरेका थिए ।
बुधबार दिउँसो ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आयोजना हुने अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग उनले आजै द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आज ल्हासामै बस्ने कार्यक्रम छ । उनका साथमा उनको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन् ।