ललितपुर । बुधबार विश्व पर्यटन दिवसको अवसरमा विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले दरबार सङ्ग्रहालय अवलोकनका लागि टिकट शुल्क नलिने भएको छ ।
पाटन दरबार सङ्ग्रहालयले आन्तरिक तथा बाह्य पर्यटकलाई बुधबार विश्व पर्यटन दिवसको अवसरमा निःशुल्क सङ्ग्रहालय अवलोकन गर्ने अवसर दिएको हो । हाल पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्नका लागि आन्तरिक पर्यटकले रु. ३० र बाह्य पर्यटकले रु. एक हजार शुल्क तिर्ने गरेका छन् ।
पाटन दरबार सङ्ग्रहालयले राखेको तथ्याङ्कअनुसार दैनिक दुई सय ५० भन्दामाथि आन्तरिक पर्यटकले सङ्ग्राहालय अवलोकन गर्छन् भने दुई सयजना बाह्य पर्यटकले अवलोकन गर्दै आएका छन् ।
विश्व पर्यटन दिवसको अवसरमा पाटन दरबार क्षेत्र अवलोकन गर्न आएका बाह्य पर्यटकलाई निःशुल्क प्रवेश गराएर मायाको चिनोसमेत प्रदान गर्ने कार्यक्रम रहेको विश्व पर्यटन दिवसका संयोजक डिलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।