राँझा (बाँके) । नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या नहुने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।
बुधबार नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले गरेको नेपालगञ्जका उद्योगी व्यापारीसँगको भेटघाट कार्यक्रममा उनले बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताए ।
मन्त्री बस्नेतले नेपालगञ्जको विद्युत् समस्या समाधानका लागि नेपालगञ्ज–कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आजबाट सुरू भएको बताउँदै आयोजनाको निर्माणपछि ‘लो भोल्टेज’ र जथाभावी विद्युत् जाने समस्या समाधान हुनुका साथै उद्योग पनि पूर्णरुपमा सञ्चालनमा आउने उनले विश्वास व्यक्त गरे ।
उद्योगीमा देखापरेको विद्युत् समस्या हल हुने गरी यो आयोजना सुरू हुन लागेको मन्त्री बस्नेतले उल्लेख गरे । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नेपालगञ्जको विद्युत् समस्या समाधान हुने गरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिए । उनले आयोजना सुरु हुने तर वर्षौसम्म अलपत्र पारेर समस्या समाधानमा अवरोध हुँदै आएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
अध्यक्ष धामीले नेपालगञ्जका उद्योगी व्यवसायीका समस्या सम्बोधन गरिदिन सङ्घका तर्फबाट मन्त्री बस्नेतलाई ज्ञापनपत्र समेत बुझाए । नेपालगञ्जमा अहिले लो भोल्टेज र जथाभावी विद्युत् जाने समस्याले उद्योगी व्यवसायी निकै समस्यामा परेका छन् ।