काबुल, वैशाख २३
अफगानी सुरक्षा परिषद्ले १०० भन्दा बढी तालिबानी बन्दीहरूको रिहाइको पुष्टि गरेको छ । अफगानिस्तानको सरकारले यस वर्ष फेब्रुअरीमा अमेरिका र तालिबान समूहबीच शान्ति सम्झौतामा कैदीबन्दीलाई रिहाई गर्ने सहमतिअनुरुप १०२ थप तालिवान कैदीहरूलाई रिहा गरेको हो । ‘राष्ट्रपति असरफ घानीको निर्देशनको आधारमा सरकारले तालिवानी नेता तथा लडाकूहरूलाई सोमबार रिहा गरिएको हो’, मङ्गलबार अफगानी सुरक्षा परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सहमतिअनुसार अहिलेसम्म ८५० तालीवानी नेता तथा लडाकस्लाई रिहा गरिसकिएको र अन्य ६५० जनालाई प्रक्रिया पु-याएर क्रमशः रिहा गरिनेछ । सुरक्षा परिषद्का प्रवक्ता जाविद फैसलले हस्ताक्षर गरेको विज्ञप्ति ट्विटरमार्फत् जारी गरिएको हो ।
तालिवान कैदीहरूलाई उनीहरूको उमेर, स्वास्थ्य र बाँकी सजायको आधारमा रिहा गरिने र उक्त कदम शान्तिका लागि अमेरिका र तालिवानबीच भएको प्रतिवद्धता र जेलमा रहेका कैदीलाई कोभिड–१९ जोखिमबाट कम गर्ने नीति अनुरूप भएको जाविद फैसलले दुई दिन पहिले सञ्चारकर्मीसँगको कुराकानीमा बताएका थिए । यस वर्षको फेब्रुअरीमा तालिवान र संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौतामा पुगेपछि अन्तर–अफगानी वार्ताको बन्दी र आदानप्रदान सम्भव भएको हो ।
यद्यपि यस अवस्थामा अफगानिस्तानको चुनावी झगडा र बन्दीहरूको रिहाइको विषयमा आपसी असहमतिका कारण वार्ता ढिला भएको छ ।तालिवानी समूहले अफगानिस्तानको सरकारले शान्ति सम्झौताको आधारमा पाँच हजार कैदीहरूलाई रिहा गर्न माग गरिरहेको छ तर अफगानिस्तान सरकारले बिस्तारै आन्दोलनका एक हजार ५ सय सदस्यलाई रिहा गर्न सहमत भएको र क्रमशः उनीहरूको रिहाइ भइरहेको छ । रासस/एएनआई