काठमाडौं । नेपाल राष्ट्र बैैंकले भुक्तानी तथा फर्छ्योट ऐनविपरीत कार्य गरेको पुष्टि भएपछि मोहर डिजिटलको अनुमति खारेज गरिदिएको छ । मंगलबार सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबारदेखि नै कार्यान्यनमा आउने गरी उक्त कम्पनीको अनुमति खारेज गरेको जनाएको हो ।
अनुमति खारेजसम्बन्धी राष्ट्र बैंकले सार्वजनिक गरेको पत्रमा भनिएको छ, ‘यस बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्नेगरी मिति २०७६/०६/३० मा अनुमतिपत्रप्राप्त मोहर डिजिटल प्रालिले भुक्तानी तथा फर्छ्योट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फर्छ्योट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ कोखण्ड (ग) को व्यवस्थाबमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकहरुसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्नुहुन समेत यसै सूचनाद्वारा अनुरोध गरिन्छ’, राष्ट्र बैंकले पत्रमार्फत जानकारी दिएको छ ।