काठमाडौँ । कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुर्व्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न र स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न आयोगले नेपाल सरकार, स्वास्थ्यकर्मी र सबै सरोकारवाला पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
केही दिनयता चितवन, कास्की, मकवानपुर, लमजुङ जिल्लालगायत विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोड एवम् चिकित्सकले आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको उपचारमा असर पर्न गएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा चिकित्सकको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीले भोग्नु परिरहेको समस्याबारे विभिन्न माध्यमबाट निरन्तर अनुगमन भइरहेकोे उल्लेख छ ।
हेटौँडाको सञ्चो अस्पतालका चिकित्सकमाथि गत भदौ २४ गते सेवाग्राहीबाट हातपात भएको, लमजुङ अस्पतालका चिकित्सकमाथि असोज ७ गते स्थानीय जनप्रतिनिधिबाट हातपात भएको र असोज ८ गते पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि सेवाग्राहीले कुटपिट, दुर्व्यवहार र आक्रमण गरेको घटनाका सम्बन्धमा आयोगले अनुगमन गरेको हो ।
पोखराको मणिपाल अस्पतालमा एक बिरामीको उपचारका क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि हातपात र दुर्व्यवहार गरी अस्पतालको भौतिक संरचनामा तोडफोड गर्नाका साथै सुरक्षाकर्मीबाट समेत चिकित्सकमाथि दुर्व्यवहार गरिएको अनुगमनमा देखिएको आयोगले जनाएको छ ।
चिकित्सकले असोज ९ र १० गते अस्पतालको आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिएका कारण उपचारका लागि आएका बिरामी सेवा पाउनबाट वञ्चित भएको जनाउँदै आयोगले शान्ति सुरक्षा र घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गरेको छ । यसबाट स्वास्थ्यकर्मीको मनोबल र स्वास्थ्य संस्थाको प्रभावकारितामा असर परेको आयोगको ठम्याइ छ ।
स्वास्थ्यकर्मी स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकले उपचार गर्न पाउनुपर्ने हकमा असर पर्नाका साथै स्वास्थ्य संस्था धराशायी बन्न पुग्ने सम्भावना रहेको आयोगले जनाएको छ ।