काठमाडौँ । अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले बिहीबार आयोजना गरेको गोष्ठीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताएकी छिन् ।
उनले सार्वजनिक सरोकारका विषयमा जति बढी जानकारी प्राप्त हुन्छ त्यती बढी जनता सशक्त हुने बताइन् । मन्त्री शर्माले सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउनु आजको आवश्यकता रहेको बताइन् ।
संविधानमा मौलिक हककारुपमा सूचनाको हकलाई व्यवस्था गरिएको र यसको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन रहेको जानकारी गराउँदै मन्त्री शर्माले ऐनको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो भनिन ।
“अनलाइन स्पेसको वृद्धिसँगै एकातिर सूचना सङ्कलन, भण्डारण र प्रवाहमा सहजता आएको छ भने अर्कातिर सूचना प्रविधिको प्रणालीमाथिको अनाधिकृत पहुँच दुरुपयोगको समस्याका कारण सूचनाको सुरक्षामा चुनौती थपिएको छ”, मन्त्री शर्माले भनिन् । उनले यसका लागि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेको उल्लेख गरिन् ।
प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि यसलाई पूर्णरुपमा अनलाइनमा लैजान प्रयासरत रहेको बताए । उनले सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताउँदै यसले कार्यान्वयनमा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
आयुक्त गुरुङले आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका बनाएको उल्लेख गरे । उक्त पुस्तिकालाई आगामी दिनमा स्थानीय भाषामा पनि प्रकाशन गर्ने योजना रहेको उनले सुनाए । कार्यक्रममा मन्त्री शर्माले आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका विमोचन गरेकी थिइन् ।