विराटनगर । नेपालीहरूको ठूला चाडपर्व नजिकिएसँगै विराटनगर भन्सारमा खारेजीमा परेका भन्सार प्रतिनिधिहरू पुनः जाँचपासमा संलग्न भएका छन् । सरकारले चालू आर्थिक वर्षदेखि भन्सार प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न हुन नपाउने व्यवस्था छ ।
सो व्यवस्थापछि प्रतिनिधिहरूले उद्योगको प्रतिनिधि र भन्सार एजेन्टको कर्मचारीका रूपमा नियुक्ति बनाएर चोर बाटोबाट भन्सार जाँचपासमा संलग्न भएका थिए । तर चाडपर्व नजिकिँदै गएपछि भने उनीहरू खुलेआमरूपमा जाँचपासमा संलग्न भएका छन् । भन्सार प्रतिनिधिहरू धमाधम भन्सार जाँचपासमा संलग्न हुन थालेपछि त्यसलाई नियन्त्रण गर्ने विषयमा विराटनगर भन्सारले सरोकारवालासँग परामर्श गरेको जनाएको छ । तर ठोस प्रगति भने हुन सकेको छैन ।
विराटनगर भन्सारमा रहेका भन्सार एजेण्टका प्रतिनिधिहरूले पछिल्लो समय उद्योग प्रतिनिधिका रूपमा भन्सारसम्बन्धी काम गर्ने पत्र दर्ता गरेका थिए । तर उनीहरू सम्बन्धित उद्योगबाहेकको भन्सार जाँचपास पनि संलग्न हुने गरेपछि भन्सार विभागको टाउको दुखाइको विषय बनेको छ ।
अवैधरूपमा भन्सार जाँचपासमा संलग्नको पहिचान गरी विराटनगर भन्सारले कारबाहीको तयारी गरेको जनाएको छ । तर भन्सारले कारबाही गर्न सक्नेमा कोही विश्वस्त हुन सकेका छैनन् । उद्योगको सुविधाका लागि भन्सार जाँचपासमा उद्योगी उपस्थित हुन नसक्ने भए ऐनअनुसार सम्बन्धित उद्योगको भन्सारसम्बन्धी काम गर्नेगरी उद्योगले एक कर्मचारी नियुक्ति गर्न सक्ने बताइएको छ। तर सो ऐनको दुरुपयोग गर्ी उनीहरू आफूले नियुक्ति लिएको उद्योगबाहेक अरूको पनि भन्सार जाँचपास गरिरहेका छन् ।
यस्तै, भन्सार एजेन्टबाट समेत उनीहरूको एजेन्टको कर्मचारीमा नियुक्ति लिएर जाँचपासमा संलग्न हुन थालेका छन् ।
सो सम्बन्धमा विराटनगर भन्सारमा उजुरी समेत परेको छ । सो उजुरी परेपछि विराटनगर भन्सारले छानबिन सुरु गरेको बताइएको छ । स्रोतका अनुसार जाँचपासको लागि विभागले दिएको भन्सार एजेन्टको लग इन नम्बर ०६५, ३९२, ९७४, ६३८, ७३७, ९७४ र ९३९ बाट भन्सार जाँचपास गर्ने अधिकांश उद्योग प्रतिनिधिहरू नै रहेका छन् । त्यसैको आधारमा विराटनगर भन्सारले पनि उक्त लग इन नम्बरबाट भन्सार जाँचपास हुुने सामानमा र त्यस्ता प्रतिनिधिहरूको सम्बन्धमा आफ्नो निगरानी बढाएको जनाएको छ ।
उक्त भन्सार एजेन्टको लगइन नम्बर प्रयोग गर्नेहरू सबै विगतमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठन र राष्ट्रिय भन्सार परिषद् नामका संगठनमा बसेकाहरू छन् । उक्त लग इन नम्बर प्रयोग गरी भन्सार जाँचपास गराउने एजेन्ट तथा उद्योग प्रतिनिधिहरू पटकपटक भन्सार राजस्व छलिको प्रकरणमा अनुसन्धानको दायरामा पुगेपछि उन्मुक्ति पाउँदै आएका छन् । यस्तै, विराटनगर भन्सारको भन्सार अधिकृतबाट सेवानिवृत्त बनेका गोपी उप्रेतीले हाल भन्सार एजेन्ट छन् ।
उप्रेतीले भन्सार प्रतिनिधि राखेश ठाकुरलाई आफ्नो लग इन नम्बर ९३९ नै बिक्री गरेका छन् । यद्यपि भन्सार जाँचपास गर्ने प्रज्ञापनपत्रमा हस्ताक्षर गर्न भने उनी आफैं उपस्थित हुने गरेका छन् ।
स्रोतका अनुसार अझै पनि भन्सार एजेन्ट कृष्णबहादुुर थापाले भन्सार प्रतिनिधि अरबिन्दकुमार ठाकुुरलाई लग इन नम्बर तीन सय ९२ र चेतनाथ पौडेलले रविन पौडेललाई लग इन नम्बर ०६५ प्रयोग गर्न दिएका छन् ।