काठमाडौं,केही समयदेखि स्वास्थ्यकर्मीहरूमाथि भइरहेका हिंसात्मक आक्रमणका शृङ्खलाले अत्यन्त भयावह र आपत्तिजनक भएको बृहत् नागरिक आन्दोलनले बताएको छ । बिरामीको जीवन मरणको लडाइँमा बिरामी र तिनका प्रियजनलाई साथ दिँदै डटिरहनुपर्ने स्वास्थ्यकर्मीविरुद्ध देशव्यापी रुपमा बढ्दो भौतिक आक्रमण र हिंसाले स्वास्थ्यकर्मीहरूको मनोबल गिरेको तथा समाज र राज्यप्रतिको विश्वास धर्मराएको बताएको छ । उस्ले भन्यो ‘ न्यूनतम व्यक्तिगत सुरक्षाको पनि प्रत्याभूति नहुँदा उनीहरूमाझ प्रवासका गन्तव्य पछ्याउने लहर चिन्ताजनक रुपले बढ्दैछ भने अर्कोतिर यस पेशाप्रति युवाहरूको जमातमा आकर्षण पनि घट्दै जाने देखिन्छ ।
विश्व स्वास्थ्य सङगठनका अनुसार स्वास्थ्यकर्मीको जनसाङ्ख्यिक मागको प्रक्षेपणका आधारमा नेपाल अहिले नै रातो सूचीमा परिसकेको स्थितिमा आगामी दिनहरुमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पनि स्वास्थ्यकर्मीहरूको अभाव हुनसक्ने अकल्पनीय स्थिति नजिकिँदैछ ।
विश्वभरमै स्वास्थ्य उपचारका क्रममा भएका मृत्यु वा अन्य परिणतिका कारणका अध्ययनहरूले लगभग सबैजसो दुर्घटनामा एक(दुई स्वास्थ्यकर्मीको गल्ती होइन, स्वास्थ्य संस्थामा आइपुग्दासम्मका रोगका गम्भीरता र जटिलताहरू अनि समग्र समुदाय, अस्पताल र स्वास्थ्य प्रणालीकै अनेक तहमा रहेका प्रक्रियागत र संरचनात्मक धाँजाहरु जिम्मेवार भएको देखाउँछन् । यस्ता प्रणालीगत समस्यासँग जुध्दै बिरामीको जीवनरक्षाको लागि अहोरात्र अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीलाई नै आक्रोशको तारो बनाउने प्रवृत्तिले समाजमा सङ्गीन परिस्थिति सिर्जना गर्ने खतरा पैदा भएको छ ।
स्वास्थ्यकर्मीहरुप्रतिको शृङ्खलाबद्ध हिंसा बढ्नुका कारणमा राजनीतिक संरक्षणमा मौलाएको दण्डहीनता मूलतः जिम्मेवार देखिन्छ । त्यसबाहेक, सरकारले जनताको स्वास्थ्यप्रति आफ्नो दायित्त्व बिर्सेर निजीको भरमा नियमनबिनै छोडिदिएकाले र हाकाहाकी स्वार्थको द्वन्द्व हुने छद्म र अनैतिक लेनदेनले गर्दा आम नागरिकले धान्न नसक्ने गरी महँगो भएको विद्यमान चरम नाफामुखी स्वास्थ्य प्रणालीका कारणले समग्र स्वास्थ्यक्षेत्रप्रति नै वितृष्णा बढ्दै जानु अर्को कारण हो । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ नहुनु, पर्याप्त जनशक्तिको अभावमा चिकित्सकले बिरामीलाई पर्याप्त समय दिन नसकिरहेको कारण मौजुदा स्वास्थ्य प्रणालीप्रति आम विश्वास घटेको छ ।
यस्तो स्थितिमा बृहत् नागरिक आन्दोलनले स्वास्थ्यकर्मीहरूमाथि भइरहेका शृङ्खलाबद्ध हिंसात्मक आक्रमणका घटनाहरूको भर्त्सना गर्दछ, दोषीहरूमाथि कडा कारबाहीको माग गर्दछ, स्वास्थ्यकर्मीहरूको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ र उनीहरूको सुरक्षाको प्रत्याभूति होस्, दण्डहीनताको अन्त्य होस् र यस्तो हिंसाले आम नागरिकले सुरक्षित स्थानमा स्वास्थ्य सेवा सुचारु रुपमा पाउने हक सुनिश्चित् होस् भनेर सम्बद्ध सबै निकायहरुसँग माग गर्दछ । त्यसबाहेक, स्वास्थ्यकर्मीहरूलाई पनि आफ्ना मागहरु अघि सार्ने क्रममा आफ्ना पेशागत आदर्शहरूलाई नबिर्सन तथा आपतमा परेका बिरामी र तिनका आफन्तका पीडाप्रति संवेदनशील रहँदै उनीहरूलाई असर पर्ने खालका होइन, संघर्षका वैकल्पिक उपायहरु अवलम्बन गर्न आह्वान गर्दछ ।’