काठमाडौं । आइतबार आकस्मिक मन्त्रिपरिषद बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १२ः३० बजे बोलाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा आइतबार बिहान बालुवाटारमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो ।
बैठकमा सुन तस्करी छानबिन आयोगको विषयमा छलफल हुने स्रोतले बताएको छ । सरकारले चाडबाडको मुखमा असाध्यै मूल्यवृद्धि गरेको भन्दै मन्त्रिपरिषद बैठकमा आलोचना भइरहेको विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।
गएरातिदेखि लागू हुने गरी आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बृद्धि गरेको छ ।
‘नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा लेखिएको छ । यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरी १२ः३० मा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।’