काठमाडौं । अब हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ । विश्वका जुनसुकै देशमा रहेका आफन्तहरूले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैंकका ७७ जिल्लामा रहेका दुई सय ८४ वटा शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ । दूरदराजमा रहेका ग्राहकहरूले पनि यो सुविधा प्राप्त गर्न सक्नेछन् । यसपछि बैंकका ग्राहकहरू तथा अन्य वैदेशिक रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई नेपालमा रेमिट्यान्स प्राप्त गर्न सहज हुने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सीएफएस रेमिट प्रालिका बीच यसअघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र प्रिन्सिपल एजेन्ट सीएफएस रेमिटका प्रमुख कार्यकारी अधिकृत बबी शर्माले हस्ताक्षर गरेका हुन् ।
बैंकका हाल सातवटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ८४ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ६५ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा विनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।