काठमाडौं । एनसेल आजियाटा लिमिटेडले विश्व मुटु दिवसको अवसरमा काठमाडौंको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा चार सयभन्दा बढी मानिसले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएका थिए ।
नर्भिक अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसले विशेषज्ञ डाक्टरबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँचलगायतका परामर्श र ईसीजी र मधुमेह जाँच सेवा पाएका थिए ।
स्वास्थ्य शिविरले मानिसहरूमा प्रिभेन्टिभ हेल्थ केयर प्रोत्साहन गर्न मद्दत गर्ने हुनाले स्वास्थ्य शिविरहरू समयमै रोग पहिचानका लागि एकदमै राम्रो माध्यम मानिन्छ । स्वाथ्य शिविरमा आएका सबैले थप जाँचहरू गर्नुपरेमा नर्भिक अस्पतालले २० प्रतिशत छुटको पनि व्यवस्था मिलाएको छ । स्वास्थ्य शिविरमा तत्काल औषधी आवश्यक भएकाहरूलाई निःशुल्क औषधि पनि दिइएको थियो ।