ललितपुर । ‘विश्व लगानीकर्ता सप्ताह’ को आइतबार उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन् । उनले लगानीकर्तालाई पुँजीबजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिए ।
“अहिले नियामकको केही माइक्रोम्यानेजमेन्टका कारण पनि बजार प्रभावित भएको देखिन्छ । यसबारे चाँडै कुनै निर्णय आउला भन्ने अपेक्षा गरेको छु”, उनले भने ।
अर्थमन्त्री महतले शेयर बजारलाई स्वस्थ बनाउन जरुरी रहेको बताए । उनले भने, ''बेलाबेला भित्री कारोबार (इन्साइडर ट्रेडिङ) का कुरा पनि सुनिने गरेका छन् । यसलाई धितोपत्र बोर्डले निर्णायक हिसाबले नियमनको दायराभित्र ल्याउनुपर्छ ।”
नयाँ धितोपत्र दलाल लाइसेन्स दिएपछि पुँजीबजार प्रतिस्पर्धी बन्दै गएको र एकाधिकारको अवस्था अन्त्य भएको उनको भनाइ छ । यसलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि अर्थमन्त्री महतले बताए । शेयर बजारबारे निकै कम व्यक्तिलाई मात्र जानकारी रहेको र यस क्षेत्रमा लगानी गरेर कसरी प्रतिफल लिने भन्नेबारे धेरैलाई जानकारी नभएकाले वित्तीय तथा पुँजी बजारसम्बन्धी साक्षरता बढाउन आवश्यक रहेको उनले बताए ।
नेपालमा वित्तीय साक्षारता निकै कम रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए । यसलाई बढाउनका लागि सबै निकाय र पक्षले भूमिका खेल्न जरुरी छ, उनले भने ।
सोमबारदेखि धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा र गुनासो सुनुवाइका लागि आर्टिफिसियल इन्टेलिजेन्स मा आधारित च्याटबाट सञ्चालनमा ल्याएको छ । लगानी सप्ताहका रुपमा एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाउने योजना रहेको छ ।