काठमाडौं, वैशाख २५
राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून) ले ब्याजदरमा एकरुपता कायम गर्ने भएका छन् । बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्नेलगायतका विषयमा सहकार्य गर्ने सहकार्य गर्ने सम्बन्धमा वैशाख १७ गते सहमती पत्रमा हस्ताक्षर समेत गरेका थिए ।
दुवै संस्थाबीच वित्तिय सहकारीको स्थायित्व र दिगो सञ्चालनका लागि सहकार्य गर्ने विषयमा सहमती भएको जनाइएको छ । दुवै संस्थाले कोरोना संक्रमणका कारण सहकारीमा पर्नजाने वित्तीय संकट टार्न, नेपालको सहकारी अभियानलाई व्यवस्थित र व्यावसायिक बनाउन सहकार्य गर्ने जनाएको छ । सहकार्य गर्नकालागि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजनमा बैंक र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदलसमेत गठन गरेको जानकारी दिए ।
नेपाल सहकारी पत्रकार समाजले आयोजना सरोकारवालाहरूसँग गरेको भिडियो कन्फरेन्समा बैंकका अध्यक्ष केबी उप्रेतीले बैंक र नेफ्स्कूनका सबै देशभरिका शाखाबाट लिने दिने ब्याजमा एकरुपता हुने बताए । तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सहकार्य गरिने उनको भनाइ छ । तरलता ब्यबस्थापन गर्न, बचत र ऋण सहकारीमा हुने कारोबारमा एकरुपता हुने उनको भनाइ छ । यसले नमुना परियोजना सञ्चालन गर्न पनि सजिलो हुने उनले बताए । प्रदेशस्तरीय नमुना परियोजनाका लागि प्रयास भइरहेको भन्दै उक्त परियोजनामा बैंकले ७० प्रतिशत लगानी गर्ने बताए ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यदलको प्रतिवेदन आएपछि बैंकसँग दीर्घकालीन सहकार्य गरिने बताए । विषयका आधारले यात्रा केही फरक रहे पनि बैंकसँग अन्तरविरोध नरहेको उनको भनाइ छ । कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले सहकार्यले सिङ्गो सहकारी माझ खुसी छाएको बताए । प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा विषयमा सहकार्य हुने उनको भनाइ छ । यो जोखिमपूर्ण काम भए पनि सहकारीको दिगो व्यवस्थापनका लागि सहकार्य आवश्यक भएको उनको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाइले वित्तीय प्रोडक्ट डिजिटलाइजेसन गर्न सहकार्यमा जोड दिइएको बताए । सहकार्यपश्चात् बैंकको चेक नेफ्स्कुुनमार्फत र नेफ्स्कूनको चेक बैंकमार्फत साटिनेछ । कार्यदलले वैशाख २७ गतेसम्म प्रारम्भिक प्रतिवेदन तयार गर्ने जनाइएको छ । तरलता व्यवस्थापनका लागि दुवै संस्थाले विपत् व्यवस्थापन केन्द्रीय तरलता कोष स्थापना गर्ने जनाएका छन् । उक्त कोषमा बैंकले एक अर्ब र नेफ्स्कूनले १० करोड रुपैयाँ जम्मा गरेको बताए । कोरोनाले नेपालसहित विश्व नै सङ्कटमा गुज्रिरहेको बेला सहकारीमा समस्या आउन नदिन कोष खडा गरिएको उनीहरूको भनाइ छ ।