फुङ्लिङ (ताप्लेजुङ) । लाखौँ तीर्थयात्री आवतजावत हुने ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति हुन सकेको छैन ।
निर्माण कम्पनीका आवश्यक उपकरण खिया लागरे बेवारिसेजस्तै बनेको पाथीभरा जाने बाटोको गुप्ते क्षेत्रमा देख्न सकिन्छ । कालोपत्र हुने सडकको स्तरोन्नति खासै नभएको हुँदा पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीको सास्ती उस्तै छ । दुई वर्ष छ महिनामा सक्ने गरी काठमाडौँको कन्टेक प्रालिले कालोपत्रको ठेक्का लिएको थियो । अब ठेक्का सम्झौता समयावधि सकिन आठ महिना मात्र छ, तर अहिलेसम्म प्रगति भने ११ प्रतिशतमात्र भएको जनाइएको छ ।
विसं २०८१ को जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सोअनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिसक्नुपर्नेमा ११ प्रतिशत पनि नभएको ताप्लेजुङ उत्तर–दक्षिण ओलाङचुङगोला सडकका सबइन्जिनीयर यहोसु लिम्बूले बताए ।
निर्माण कम्पनी कन्टेकका इन्जिनीयर मदन कत्यादले सडक कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको समस्या भएकाले कामले गति लिन नसकेको बताए ।
गत १४ गते आइतबार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सांसद योगेश भट्टराई, निर्माण व्यवसायी गणेश मैनालीसहित सम्बधित विभागका प्रमुखको उपस्थितिमा निर्माण कम्पनीले तत्काल यातायाता सहज बनाउन काम सुरु गर्ने समहति भएको सडक विभागले जनाएको छ ।
ठेकोदारले काम नगर्दा पाथीभरा जाने सडक कालोपत्र नहुने स्थितिमा पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन् ।