काठमाडौं । मंगोल नेशनल अर्गनाइजेसन–डा.गोपाल गुरुङ संगठनले यहि असोज २० गते दसैँ बहिष्कार कार्यक्रम आयोजना गर्ने भएको छ । दसैँ बहिष्कार कार्यक्रम संगठनको बाग्मती प्रांतीय सभाले काठमाडौंस्थित सुकेधारामा गर्न लागेको हो ।
बाग्मती प्रांतीय सभाका संयोजक डासीङ तामाङका अनुसार संगठनको सुकधारास्थित संघीय कार्यालयसँगै दसैँको विरोध कार्यक्रम हुने भएकाले सम्पूर्ण मंगोल शुभ चिन्तकहरुलाई उक्त दिन उपस्थित भएर सहयोग गर्न अनुरोध गरिएको छ । विगत वर्षहरु झै यसपाली पनि दसैँ बहिष्कार कार्यक्रम गर्न लागेको बताउदैँ तामाङले दसैँ आफ्नो समुदायको नभएको र त्यो दिन शोक मनाउनु पर्ने बताएका छन् । उनी भन्छन्, ‘त्यो दिन शोक मनाउनु पर्ने हो, खुशीयाली मनाउनु पर्ने होइन । हाम्रो समुदायले किन दसैँ मान्न गयो, दसैँ के हो, दसैँ मनाउनुको कारण के हो आदि बारे २० गतेको बहिष्कार कार्यक्रममा सबैलाई जानकारी गराउँदैछौं ।’
उनले एकीकरणको क्रममा पृथ्वीनारायण शाहले घले राजालाई मारेको बेला आत्मसमर्पण नगरि हार स्वीकार गरी सेतो टिका लगाएर त्यहाँबाट भागेका आफ्नो समुदायले दसैँमा सेतो टिका लगाउन थालेको र जितको खुशीयालीमा घले राजाको रगतमा चामल मुसेर रातो टिका लगाएर रमाइलो गरी विजयोत्सव मनाएका केही आफ्नो समुदायले दसैँमा रातो टिका लगाएर पर्व पनाउँदै आएको बताए । तर, आफ्नो समुदायले त्यो बेलाको शोकलाई दसैँ मनाउनु पर्ने आवश्यक नभएको उनको भनाई ।
उनले विजय दशमी सुरु भएको दिन आफ्ना पुर्खा मरेको दिन भएकाले दसैँमा शोक मनाउनु पर्छ भन्ने सूचना दिनकै लागि दसैँ बहिष्कार कार्यक्रम गर्दै आएको बताए । साथै, उनले पहिला पहिला नेपालीहरुको महान चाड विजय दशमी भनिन्थ्यो तर मंगोल अर्गनाइजेसनलगायतले विरोध गर्दै आएकाले पछिल्लो समय नेपालीहरुको महान चाड दसैँ भनेर प्रयोग भएको बताए ।