काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यही असोज २ गते मंगलबार अनुगमनका क्रममा काठमाडौंको कुलेश्वरबाट नियन्त्रणमा लिएको सात सय क्विन्टल (७० हजार केजी) चिनी प्रत्यक्षरूपमा उपभोक्ताकहाँ पु-याउन साल्ट ट्रेडिङ कम्पनी लिमिटेडलाई दिने भएको छ ।
विभाग स्रोतका अनुसार उक्त चिनीको गुणस्तर परीक्षण गर्दा खानयोग्य देखिएको कारण प्रत्यक्षरूपमा चाँडै सर्वसाधारण उपभोक्ताकहाँ पु-याउन साल्ट ट्रेडिङलाई बिक्री गर्न दिन लागिएको हो ।
‘असोज २ गते सिल गरिएको गोदाममा राखिएको चिनी खानयोग्य छ भनेर ल्याबले रिपोर्ट दिएको छ’, विभाग स्रोतले आर्थिक दैनिकसित भन्यो, ‘चिनी बजारमा नपठाई कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई अधिकतम जरिबाना तिराएर यसको बिक्रीको जिम्मा साल्ट ट्रेडिङलाई दिनेछौँ । यसले गर्दा सर्वसाधारणले चिनीको अभाव महसुस गर्नुपर्ने छैन ।’
कुलेश्वरका व्यापारी सन्तोष खेतानको गुहेश्वरी ट्रेडलिंकमा विभागले असोज २ गते छापा मारेर हिरा ब्राण्डको चिनी दुई बोरा, लुम्बिनी ब्राण्डको मसिनो चिनी दुई बोरा नमूनाको लागि अनुगमन टोलीले वाणिज्य विभागमा ल्याइएको थियो । उक्त व्यावसायिक फर्मको चिनी र दाल रहेको पाँचवटा कोठा सिलबन्दी पनि गरेको थियो । उनको गोदाममा सात सय क्विन्टल चिनी रहेको विभागले पुष्टि गरेको थियो ।
जुन व्यवसायीको फर्मबाट चिनी बरामद गरिएको हो उसलाई नै जरिबाना गराएर बिक्री गर्न दिँदा मिठाई पसललगायत व्यावसायिक फर्ममा जान्छ तर सर्वसाधारण उपभोक्ताले नपाउने भएको कारण साल्ट ट्रेडिङमार्फत सर्वसाधारणलाई बिक्री गर्न दिन लागिएको हो । कृत्रिम अभाव सिर्जना गरेको कारण ती व्यवसायीलाई तीन लाख रुपैयाँ जरिबाना गर्ने तयारी विभागको छ । साल्ट ट्रेडिङलाई चिनी दिँदा ती व्यवसायीले खरिद गरेको मूल्यमा तीन रुपैयाँ प्रतिकेजी भाडा जोडेर चिनीको मूल्य पाउनेछन् । विभिन्न ठाउँबाट चिनी खरिद गरेको कारण खरिदमूल्यको बारेमा विभाग र चिनी लुकाउने व्यापारी खेतानबीच कुरा मिल्न सकेको छैन ।
‘चिनी खरिद मूल्यमा तीन रुपैयाँ भाडा जोडेर हुनआउने रकम ती व्यापारीले पाउँछन्’, विभागका एक अधिकारीले भने, ‘चिनी लुकाउने व्यापारी खेतानले आफ्नो चिनीको मूल्य बढी मागेका छन् । त्यसको पुष्टि गर्ने कागजत मागेका छौँ । एक/दुई दिनमै यो विषय टुङ्गिनेछ ।’
उनले चिनी प्रतिकेजी एक सय पाँच रुपैयाँमा बिक्री गरेको बिल काटेर एक सय २० रुपैयाँ वा सोभन्दा बढी पैसा लिनेगरेका थिए । त्यसपछि खुद्रा व्यापारीले नाफा राखेर बिक्री गर्दा उपभोक्ताले बजारमा एक सय ४० रुपैयाँसम्म तिर्नेगरेका थिए । व्यापारी खेतानले थोरै रकमको बिल काट्ने र धेरै रकम लिनेगरेको उजुरी विभागमा परेपछि गोदाममा छापा मारेर चिनी तथा चाउचाउलगायतका खाद्यवस्तुको परीक्षण गरिएको थियो । परीक्षणको क्रममा चार कार्टुन चाउचाउ भने म्याद गुज्रिसकेको पाइएको विभागको भनाइ छ । सो चाउचाउ भने खाल्डो खनेर पुरिनेछ ।
वाणिज्य विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको टोलीले चाडपर्वलक्षित बजार अनुगमन असोज लागेपछि जारी राखेको छ ।
नेपालका चिनी कारखानाहरूले उपभोक्ताको मागको करिब ५० प्रतिशत मात्र चिनी उत्पादन गर्नेगरेका छन् । बाँकी चिनी भने आयातमै निर्भर हुनेगरेको छ । नेपालमा वार्षिक २७ लाख मेट्रिक टन चिनीको माग हुनेगर्छ । त्यसमध्ये २१ लाख मेट्रिक टन चिनी कोक, पेस्सी तथा विभिन्न बिस्कुट तथा मिठाई कारखानालगायत औद्योगिक क्षेत्रमा खपत हुन्छ भने छ लाख मेट्रिक टन मात्र सर्वसाधारण उपभोक्ताको माग छ । नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ, कोक र पेप्सी उत्पादन गर्ने कम्पनीले विदेशबाट चिनी खरिद गरेर ल्याउने गर्छन् ।
नेपालमा मागको ५० प्रतिशत मात्र चिनीको उत्पादन हुनेगरे पनि अहिले बजारमा प्रशस्त मात्रामा चिनी रहेको विभागको अनुगमनले देखाएको छ । तर, चाडपर्वको बेला व्यापारीहरूले चिनी लुकाएर कृत्रिम अभाव सिर्जना गरेर महँगोमा बिक्री गर्नेगरेका छन् । विभागले दुईवटा चिनीमिलको गोदाममा चिनी फेला पारे पनि उनीहरूले बिक्री गर्न मानेका छैनन् ।
कोक, पेप्सी, मिठाई, बिस्कुटलगायतका कम्पनीले बुकिङ गरिसकेको कारण उक्त चिनी सर्वसाधारणका लागि बजारमा पठाउन नसकिने ती चिनी कारखानाले वाणिज्य विभागलाई जानकारी गराएका छन् । पहिला चिनी कारखानाले बिक्री गर्न तयार रहेको जानकारी दिए पनि पछि भने बुकिङ गरेका औद्योगिक प्रतिष्ठानले नमानेको भन्दै सरकारलाई चिनी दिन चिनी कारखाना तयार नभएकाले बजार अनुगमन गरेर व्यापारीले लुकाएको चिनी निकाल्ने प्रयासमा विभाग छ । उसले आफ्नो घर तथा पसलवरिपरि चिनीका गोदाम भएमा विभागमा खबर गर्न आग्रह गरेको छ ।