काठमाडौं । योगराज ढकाल (रिगल)लाई दिएको आममाफीविरुद्ध भारती मानन्धरले अनशन सुरू गरेकी छन् । श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई संविधान दिवसका अवसरमा (यहि असोज ३ गते) सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीविरुद्ध भारती आज(बुधबार) बिहानदेखि माइतीघर मण्डलमा अनशनमा बसेकी हुन् ।
उनले श्रीमानको हत्या गर्नेलाई पुनःजेलमा पठाउनुपर्ने माग राखेकी छन् । उनले मंगलबार पत्रकार सम्मेलन गर्दै मान्छे मारेर आममाफी पाउने भए बदला लिनका लागि आफूलाई हतियार दिन सरकारलाई आग्रह गरेकी थिइन् । भारतीले आममाफी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन् ।
न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा आज २ घण्टा अनसन बस्ने बताइएको छ । त्यसपछि उनको समर्थनमा आशिष मल्ल ठकुरी, दीपक थापा, गणेश जोशी अनसन बस्ने छन् ।
२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । र, भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो । ०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको र जेलमा असल चालचलन देखाएको कैदीलाई बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।