विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकासँगै जोडिएको ग्रामथान गाउँपालिकामा संस्थागतरूपमा अवैध जुवा खेल सञ्चालन हुने गरेको भेटिएको छ । दैनिक अवैध जुवा सञ्चालन हुने त्यहाँ करोडौँको खेल हुने गरेको खुलेको हो ।
ग्रामथान गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मोतीपुरस्थित लोहोन्द्रा नदीको आसपास क्षेत्रमा दैनिकरूपमा जुवा अखडा सञ्चालन हुँदा सो आसपासका पूरै गाउँ प्रभावित भएको स्थानीयको भनाइ छ । जुवा खेल्नका लागि सो अखडामा धरान, इटहरी, दमक, इनरुवा र उर्लाबारीलगायतका सहरबाट जुवाडेहरू आउने गरेको बताइएको छ । साथै, खाल सञ्चालन गर्नेहरूले खेलाडी बोलाएर नै अवैध जुवातास सञ्चालन गर्ने गरेका छन् । यतिहुँदा समेत स्थानीय प्रहरी भने मुकदर्शक बनेको स्थानीयको गुनासो छ । स्थानीय प्रशासन मुकदर्शक बनेर बसेपछि जुवाको सञ्जाल व्यापक मौलाएको चुरेभावर राष्ट्रिय पार्टीका केन्द्रीय सहअध्यक्ष घनश्याम टण्डनले जानकारी दिए । जुुवा सञ्चालन हुने स्थानबाट स्थानीय प्रहरी चौकी ग्रामथान गाउँपालिकाको मोतीपुर १ किमिको दूरीमा छ । तर प्रहरीले अन्देखा गर्दै हिँडेपछि जुवा खेलले प्रश्रय पाएको टण्डनको आरोप छ ।
केही महिनाअगाडि उक्त जुवाखालबाट जुवा सञ्चालक र केही खेलाडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो घटनापछि केही समय बन्द भएको जुवा फेरि सुरु भएको हो । पछिल्लो समय प्रहरी प्रशासनले समेत अनदेखा गर्न थालेपछि जुवाडेहरूलाई अखडा चलाउन झनै सहज भएको आरोप लाग्ने गरेको छ ।
नेकपा माओवादीको नेता अमनलाल मोदी यहीँबाट सांसद निर्वाचित भएदेखि झनै जुवाले उग्ररूप लिएको स्रोतको दाबी छ । त्यसमा पनि मोदी संघीय सरकारको मन्त्री समेत भएपछि मोरङ प्रहरी र प्रदेश प्रहरीसँग जुवाडेको सेटिङ्गले गर्दा जुवाडेलाई प्रहरीले समेत कुनै कारबाही नै नगरी खुलेआम छोडेको चुरेभावर राष्ट्रिय पार्टीका सहअध्यक्ष टण्डनको आरोप छ । हाल पनि सोही सेटिङअनुसार नै खुलेआम दैनिक करोडौँको जुवा सञ्चालन भइरहेको उनको दाबी छ ।
विराटनगर महानगरभन्दा करिब १० किमिको फरकमा सञ्चालन हुुने उक्त जुवामा व्यापारी समूहका परिवारका खेलाडी बढी सहभागी हुने गरेका छन् । स्रोतका अनुसार यो अवैध जुवा खेलको सञ्चालन आफूलाई नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बताउने सुदीपकुमार माझी रहेका छन् । माझी सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत सञ्चालनमा रहेको ग्रामथान गाउँपालिकाको मोतीपुर ४ को मोतीपुर टरसरी एवम् हरिनगरा महादेवको सिँचाइ योजनाका अध्यक्ष समेत रहेका छन् । उक्त जुवा छिमेकी जिल्लाबाट समेत व्यापक खेलाडी आउन थालेपछि स्थानीयले गाउँको सु रक्षामा समेत चुनौती थपिएको गुनासो गरेका छन् ।
यस्तै, आफ्नो क्षेत्रमा अवैधरूपमा सञ्चालन भएको जुवाका कारण गाउँको वातावरण नै धुमिल बनेको स्थानीयको भनाइ छ । विस्तारै स्थानीयहरू जुवाखालको विरोध गर्न लागेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी मातहत रहेको मोतीपुर प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको छ भने मोरङ जिल्ला प्रहरी कार्यालयलाई कोशी प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा सञ्चालन गरेको छ । यसरी प्रहरी आफैँ चेनअफ कमाण्डमा सञ्चालन हुने भएका कारण सबै घटनाको जानकार हुुँदा पनि डीआईजी राजेशनाथ बाँस्तोला र मोरङ प्रहरी प्रमुख दिपक पोखरेल मुकदर्शक भएर बसेको आरोप पनि लाग्ने गरेको छ ।