काठमाडौँ । बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि बुधबार बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।
दोस्रोपटक ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाले जानकारी दिएको हो । ।
यस्तै ४:२८ बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ४:३१ बजे सुवेडा केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टर स्केल, ५:१९ बजे सेली केन्द्रविन्दु भएर पाँच रेक्टर स्केल र ५:३८ बजे दामेना केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ ।
यसैगरी गयराति १२:१६ बजे दामेना केन्द्रविन्दू भएर चार दशमलव एक, १२:५० बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव तीन र आज बिहान ५:४३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।
भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउँछन् । उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए । यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो ।