नयाँ दिल्ली, वैशाख २५
आज बिहीबारदेखि भारतले ६४ उडानमार्फत करिब १५ हजार भारतीयलाई उद्धार गर्ने भएको छ । आजदेखि सुरु हुने उद्धारमा पहिलो लटमा विभिन्न १२ मुलुकमा अलपत्र परेका उक्त नागरिकलाई एयरलिफ्ट गरिने विदेशमन्त्री एस जयशंकरले ट्विटरमार्फत जानकारी दिएका छन् । विदेशमन्त्री एस जयशंकरले ‘वन्दे भारत मिसन’अन्तर्गत नागरिकको उद्धार गर्न लागिएको र यो क्रम १ हप्तासम्म चल्ने बताएका छन् । उनले ट्विट गर्दै भारत आउनेहरुलाई आफू रहेको मुलुकका दूतावासको सम्पर्कमा रहिरहन समेत आग्रह गरेका छन् ।
खाडी मुलुकबाहेक सेड्युलमा नरहेका व्यावसायिक उडान गर्ने विमानहरुबाट अमेरिका, बेलायत, बंगलादेश, मलेसिया, सिंगापुर र फिलिपिन्सबाट भारतीयलाई ल्याइने तयारी छ । नागरिक उड्डयनमन्त्री हरदीप पुरीले सबै गरी १ लाख ९० हजारलाई सुरुमा ल्याउने तयारी भएको छ । यो संख्या ४ लाखसम्म पुग्नसक्ने बताएका छन् ।