काठमाडौं । योगराज ढकाल (रिगल)को आममाफीविरुद्ध दिएको रिटको तारिख लिने क्रममा सर्वोच्च अदालत परिसरमा भारती मानन्धर बेहोस भएर ढल्न पुगेकी छन् । राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारिख लिन सर्वोच्च अदालत पुगेर फर्कने क्रममा आज(बुधबार) रिटकर्ता भारती अदालत परिसरमा बेहोस भएर ढल्न पुगेकी हुन् ।
रिगलको कैद मिनाहविरुद्ध अनसन बसेकी भारती सर्वोच्च अदालत परिसरमै बेहोस भएर ढलेपछि उपचारको लागि १ः०५ बजे वीर अस्पताल लगिएको छ । अहिले उनलाई अस्पतालको इमर्जेन्सीको ग्रीन जोनको बेड नम्बर १० मा राखिएको छ । इमर्जेन्सीका चिकित्सकका अनुसार निजलाई दम डिप्रेसन आदि रोग पहिले देखिनै भएको कारण चक्कर आएर ढलेको हुन सक्ने र अन्य कुरा जाँच पछि थाहा हुने छ । हाल निजको स्वासप्रस्वस सामान्य रहेको छ ।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई संविधान दिवसका अवसरमा (गत असोज ३ गते) सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।