काठमाडौं,चीनमा जारी एशियाली खेलकुदमा महिला कबड्डीमा बुधवार इरानले बाङ्ग्लादेशलाई समूह 'बी' को अन्तिम खेलमा ५४-१६ स्कोरले पराजित गरेसँगै नेपालले समूह उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश पाएको छ।
दुई दिनअघि नेपालले बाङ्ग्लादेशलाई लीग चरणको पहिलो खेलमा पराजित गरेपछि नेपाली राष्ट्रिय महिला कबड्डीले कांस्य पदक पाउने लगभग सुनिश्चित ठानिएको थियो।
तर इरानले बाङ्ग्लादेशलाई पराजित गरेपछि मात्र पदक औपचारिक रूपमा नेपालको पोल्टामा पर्ने सुनिश्चित भएको छ। यससँगै कम्तीमा नेपालको कांस्य पदक पक्का भएको छ।
कोसँग सेमिफाइनलमा?
नेपालले अब सेमिफाइनलमा समूह 'ए' को विजेतासँग प्रतिस्पर्धा गर्ने छ।समूह 'ए' मा भारत, चाइनिज ताइपेई, थाईल्यान्ड र दक्षिण कोरिया छन्।
अहिले तालिकामा भारत अग्रस्थानमा र चाइनिज ताइपेई दोस्रो स्थानमा छन्।यो समूहको लीगको सबै खेल समाप्त भएपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वीको स्पष्ट हुने छ।
सम्भवतः बलियो भारत नेपालको प्रतिद्वन्द्वी हुने सम्भावना छ।
महिला कबड्डीमा सात राष्ट्र सहभागी भएका थिए। समूह 'ए' मा चार तथा समूह 'बी'मा तीन टोली थिए।
नेपालले बाङ्ग्लादेशलाई पहिलो खेलमा ३७–२४ ले पराजित गरेको थियो भने अर्को खेलमा साबिक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो।
ऐतिहासिक पदक
जारी एशियाली खेलकुदमा नेपालको यो पहिलो पदक हुने छ।
नेपालले जारी एशियाली खेलकुदमा भाग लिएका २९ खेलमध्ये प्राय: सबै खेलका खेलाडीहरूले एकपछि अर्को गर्दै पराजय भोगिरहेका बेला महिला कबड्डीले नेपालको मान राखेको छ।
नेपालले उन्नाइसौँ दक्षिण एशियाली खेलकुदमा कबड्डीमा रजत पदक जितेको थियो। त्यसैले राष्ट्रिय खेलकुद परिषद्ले नेपाली महिला टोलीलाई चीनमा आयोजित एशियाली खेलकुदमा सहभागी हुन पठाएको हो।
पहिलो सहभागितामै महिला कबड्डी टोलीले पदक पाउन लागेको हो।
राष्ट्रिय कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशीले भनिन्, "पहिलो सहभागिता र पहिलो कांस्य, नेपाली महिला कबड्डीको यो सपनाको उडान हो। त्यसमा हामी सफल हुन सक्यौँ।"
नेपाली टोलीकी प्रमुख प्रशिक्षक पार्वती राईले यस सफलतासँगै मौलिक खेलले राष्ट्रको इज्जत राखेको बताएकी छन्।
"म आशा गर्छु यो सफलताले महिला कबड्डीको भोलिको दिन उज्ज्वल हुने छ।"
भलिबललाई राष्ट्रिय खेलको घोषणा गर्नुअघिसम्म कबड्डीलाई नेपालको अघोषित राष्ट्रिय खेल मानिन्थ्यो। (बीबीसी)