महोत्तरी । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा शान्ति सुरक्षा, सामाजिक सद्भाव, एकता र सहिष्णुता कायम गर्न सबै सुरक्षा निकायहरूले आफूलाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै व्यावसायिक समन्वयका साथ कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन् । महोत्तरीको बर्दिवासस्थित होटलमा बुधबार आयोजित समसामयिक सुरक्षासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले सबै सुरक्षा निकायहरू एकातावद्ध भएर निर्दिष्ट जिम्मेवारी पूरा गर्न यस अन्तरक्रियाले स्पष्टता र उर्जा प्रदान गरेकोले सोही अनुरूप सुरक्षा निकाय क्रियाशील हुने विश्वास व्यक्त गरे । चाडपर्वलाई लक्षित गरेर शान्ति सुरक्षाको अवस्था मजवुद, यातायात तथा दैनिक उपभोग्य वस्तुहरूको उपलब्धतामा सहज पहुँच गराउन ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिम, मधेश प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव र मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव तथा मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम धनुषाका प्रमुख सचिव दिनेश घिमिरेले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै शान्ति सुरक्षा कायम राखि आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सहकार्य जरूरी रहेको बताए ।
उक्त अवसरमा गृह सचिव दिनेश भट्टराईले पछिल्लो समयमा देखिएका नवीनतम् सुरक्षा चुनौतीलाई मध्यनजर गरी भरपर्दो सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्थालाई थप मजवुद बनाउन सबैको समन्वय र सहकार्य जरूरी रहेको बताए । उनले शान्ति सुरक्षा कायम राख्न सबै सुरक्षा निकायहरूले थप सतर्कता अपनाई कार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कानून कार्यान्वयन, शान्तिसुरक्षा र अमनचयन कायम राख्न आजको अन्तरक्रिया कार्यक्रम फलदायी हुनुका साथै भावी रणनीति एवम् कार्यदिशा तय गर्न समेत उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । सीमावर्ती क्षेत्रमा संगठित रूपमा हुने अपहरण, लागूऔषध ओसारपसार, हातहतियार तस्करी, सुनको अवैध ओसार पसार, नक्कली मुद्राको कारोबार जस्ता गतिविधिले समग्र राज्यको आर्थिक विकासलाई प्रत्यक्ष असर पारेको बताउँदै यस्ता गतिविधिलाई पूर्णरूपमा निरुत्साहित र नियन्त्रणको लागि शून्य सहनशीलताका साथ सरोकारवाला निकायबीच परिणाममुखी समन्वय गरी सक्रिय रूपमा काम गर्न प्रहरी संगठन क्रियाशील रहेको उनले उल्लेख गरे ।
अन्तरक्रियाको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओम प्रकाश जोशी एवम् गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेश जनकपुरधामका निमित्त सचिव उत्तम खेरलले समेत सुरक्षासम्बन्धी आ–आफ्नो धारणा व्यक्त गरेका थिए । सो अवसरमा गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे जानकारी दिए भने मधेश प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुले समग्र प्रदेशको वर्तमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतीकरण दिएका थिए । धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी, सर्लाही र सिरहाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा सुरक्षा निकायका प्रदेश प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रदेशस्तरका अध्यक्ष एवम् प्रतिनिधिहरू, प्रदेश नागरिक समाजका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।