काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएकै कारण बैंक तथा वित्तीय संस्थाहरूको संख्या निरन्तर घट्दै गएको देखिए पनि बैंकिङ क्षेत्रको कुल खर्च भने बढ्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल गराउनुको प्रमुख उद्देश्य केन्द्रीय बैंकको नियमनकारी क्षमता बढाउनु, बैंकिङ क्षेत्रलाई वित्तीयरुपमा सबल र मर्यादित बनाउनु, वित्तीय पहुँच विस्तार गर्नुलगायत थियो । यसबाहेक अर्को उद्देश्य थियो, बैंकिङ क्षेत्रको सञ्चालन एवं व्यवस्थापन खर्च घटाउनु । तर, पछिल्लो दुई आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्दा मर्जरकै कारण बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटेपनि यसले बैंकिङ क्षेत्रको सञ्चालन एवं व्यवस्थापन खर्चमा खासै फरक पारेको छैन ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो महिना अर्थात् २०७९ साउन महिनासम्म नेपालमा २६ वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित कुल ६० वटा संस्थाहरू सञ्चालनमा थिए । यस अवधिमा लघुवित्त वित्तीय संस्थाबाहेक बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखासंख्या छ हजार चार सय २० वटा थियो भने कुल एटीएम काउन्टरको संख्या चार हजार छ सय ३५ थियो ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाले मानव स्रोत व्यवस्थापन र कार्यालय व्यवस्थापन शीर्षकमा कुल सात अर्ब ३४ करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए । तर, चालू आर्थिक वर्षको पहिलो महिनामा मर्जर तथा प्राप्तिकै कारण बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा संख्या घटेर ५४ वटामा खुम्चिएको छ । वाणिज्य बैंकको संख्या २०मा झरेको छ भने विकास बैंक र फाइनान्स कम्पनी १७/१७ वटा सञ्चालनमा छन् ।
चालू आर्थिक वर्षको पहिलो महिनासम्म बैंक तथा वित्तीय संस्थाको कुल शाखासंख्या छ हजार चार सय ४१ वटा छ भने चार हजार नौ सय ६९ एटीएम काउन्टर सञ्चालनमा छन् । यस्तै चालू आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीको पारिश्रमिक र कार्यालय व्यवस्थापन शीर्षकमा सात अर्ब ७५ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ करोड १० लाख रुपैयाँले बढी हो ।
चालू आर्थिक वर्षको पहिलो महिनामा बैंकहरूले कर्मचारीको पारिश्रमिकमा चार अर्ब ७३ करोड १० लाख रुपैयाँ खर्च गरेका छन् भने कार्यालय व्यवस्थापन तीन अर्ब दुई करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी दुई शीर्षकमा क्रमशः चार अर्ब ४६ करोड ६० लाख र दुई अर्ब ८७ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए ।
चालू आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरूले कर्मचारी र कार्यालय व्यवस्थापन छ अर्ब ७९ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । जसमध्ये कर्मचारीको पारिश्रमिकमा चार अर्ब १७ करोड ८० लाख र कार्यालय व्यवस्थापनमा दुई अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने यी दुई शीर्षकमा वाणिज्य बैंकहरूले क्रमशः तीन अर्ब ९१ करोड ९० लाख र दुई अर्ब ५० करोड ९० लाख रुपैयाँ खर्च गरेका थिए ।
विकास बैंकहरूले चालू आर्थिक वर्षको पहिलो महिनामा कर्मचारीको पारिश्रमिक र कार्यालयन व्यवस्थापन शीर्षकमा क्रमशः ४४ करोड र ३२ करोड ३० लाख रुपैयाँ गरी कुल ७६ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यी दुई शीर्षकमा क्रमशः ४५ करोड र २७ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा कर्मचारीहरूको पारिश्रमिक र कार्यालय व्यवस्थापन शीर्षकमा क्रमशः ११ करोड ३० लाख र आठ करोड ७० लाख रुपैयाँ गरी कुल २० करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूले कर्मचारीको पारिश्रमिकमा नौ करोड ७० लाख र कार्यालय व्यवस्थापनमा नौ करोड ६० लाख रुपैयाँ गरी कुल १९ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए ।