काठमाडौं, वैशाख २६
खाद्य पदार्थलाई बढी मूल्यमा बिक्रीवितरण गरेको र दोहोरो बिल जारी गर्ने पसललाई सरकारले नगद जरिवानासहित कारबाही गरेको छ । दोहोरो बिल जारी गरेबापत बिहीबार दुई बिक्रेतालाई कारबाही गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा कारबाही गरिएको हो ।
काठमाडौंको माकलबारीस्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई तीन/तीन लाखका दरले जरिवाना गरिएको विभागले जनाएको छ । दुवै पसलमा प्यान र भ्याट बिल हुँदा पनि साधा बिल जारी गरिएको भेटिएपछि जरिवाना गरिएको हो । दर्ता नगरी मार्ट सञ्चालन गरेको भेटिएपछि शंखमूलस्थित बेष्ट किनमेल मार्टलाई पनि ५० हजार जरिवाना गरिएको छ ।
त्यस्तै बिहीबार नै बालाजुस्थित भ्याली कोल्ड स्टोर्सले लेबल नराखी मासु बिक्री गरेको भन्दै तीन दिनभित्र आवश्यक कागजपत्र लिएर विभागमा आउन निर्देशन दिइएको छ । भ्याली कोल्ड स्टोर्स सो क्षेत्रमा सर्वाधिक मासु बिक्री गर्ने फर्म हो । लेबल नराखी मासु बिक्री गरेको कारण उक्त पसलले गुणस्तरहीन मासु बिक्री गरेको आशंका गरिएको छ । यद्यपि परीक्षणपछि मात्र यसको वास्तविकता पत्ता लाग्ने विभागले जनाएको छ ।