गण्डकी । पोखरामा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । बिहीबार पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने निर्वाचन समितिले जनाएको छ । बिहान ११ः५५ बजेदेखि साँझ ५ः३० बजेसम्मलाई मतदान अवधि तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए । म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी प्रदेश किमिटी अध्यक्षमा चुनावी मैदानमा छन् । यस्तै उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विक, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्य तथा उपसचिवमा पर्वतका मञ्जु अधिकारी, कास्कीका दामबहादुर विक, म्याग्दीका सन्तोष रावल र कास्कीका मीना गुरुङले उम्मेदवारी दिएका छन् । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट नौ सय सात प्रतिनिधिले भाग लिएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ६२ सदस्यीय नयाँ कमिटी चयन हुनेछ ।