काठमाडौं, वैशाख २६
कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बिहीबार दुईजनामा कोरोना संक्रमण भएको फेला परेको हो । राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तुका १६ वर्षीय र २२ वर्षीय दुई पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ । बुधबार वीरगञ्जमा एकै दिन १७ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।
सरकारले कोरोना भाइरसका सङ्क्रमित सङ्ख्याको आधारमा हटस्पटका रुपमा देखिएका उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरेको छ । कोरोनाको हटस्पटको रुपमा देखिएका क्षेत्र उदयपुरमा कम्तीमा ५००, वीरगञ्ज र नेपालगञ्ज कम्तीमा एक/एक हजार जनाको नमूना सङ्कलन गर्ने गरी टोली खटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
सरकारले हालसम्म १४ हजार ५०९ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ५४ हजार ९३ नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ४ सय ५१ वटा परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १७ हजार ३ सय ७२ रहेको छ ।
अहिलेसम्म आइसोलेसनमा १ सय ३३ जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यकाबाहिर १३० जना रहेका छन् । स्वमूल्याङ्नका लागि फारम भर्नेको सङ्ख्या ३३ हजार ५ सय २२ पुगेको छ । जसमा रेड जोनमा हालसम्म ३३५ जना रहेका छन् । हालसम्म कुल ९९ जना कोभिड–१९ बाट सङ्क्रमित रहेका छन् । जसमा ७१ पुरुष र २८ जना महिला रहेका छन् । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।