काठमाडौं । बाराका प्रभावशाली नेता शिवचन्द्र कुशवाहा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा आज(बिहीबार) आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् ।
रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त क्षेत्र बारा २ मा गएको बैशाख १० गते उपनिर्वाचनमा लड्न कुशवाहा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए । तर, उनी उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए । यसअघि पनि कुसवाहा गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन जसपाका यादव(उपराष्ट्रपति)सँग बारा २ मा निर्वाचन लडेर पराजित भएका थिए ।