चौतारा (सिन्धुपाल्चोक) । चीनका विभिन्न क्षेत्रबाट दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् ।
तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको जाँचपास भई काठमाडौँ भित्रिने गरेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा रु. एक करोड ६२ लाख राजस्व सङ्कलन भएको जनाइएको छ । आयातनिर्यात सहज भएमा सरकारले राखेको लक्ष्यअनुरूप राजस्व सङ्कलन हुने केसीको भनाइ छ ।
जाडोका कपडा, जुत्ताचप्पल, तिहारका सामान, विद्युतीय सामग्री चीनबाट आइरहेको ट्रान्स सिल्क ग्रुपका संयोजक विजय शेर्पाले बताए । आयात भएका सामानमध्ये ५० प्रतिशत स्याउ रहेको शेर्पा बताउँछन् । नाकाबाट मानव आवतजावत खुला हुँदा तातोपानी क्षेत्रका होटल, लजसमेत भरिभराउ हुन थालेका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले विसं २०७२ को भूकम्प र कोरोना महामारीले थला परेको नाका आठ वर्षपछि सर्वसाधारणका लागिसमेत खुला भएपछि यस वर्ष भने नाकाबाट दसैँको सामान आपूर्ति हुन थालेको बताए ।