काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाई बचतकर्ताको निक्षेप दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बचतकर्ताको करिब साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।
बचत गरेको रकम फिर्ता नगरेपछि बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए । मासिक, त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने तथा निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासमा बचतकर्ताहरुले रकम जम्मा गरेपनि सहकारीले फिर्ता नगरेपछि पीडित प्रहरीकोमा जान वाध्य भएका थिए ।
ब्यूरोले काभ्रेको देउराली गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका चौलागाईमाथि आवश्यक अनुसन्धान भइराखेको र अन्य पीडित निक्षेपकर्तालाई पनि सम्पर्क गर्न आग्रह गरेको जानकारी गराएको छ ।