काठमाडौं । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिले अत्यावश्यक सेवा बाहेक स्थानीय तहका सबै कामकाज ठप्प पार्ने निर्णय गरेको छ । समितिको आज बसेको पदाधिकारीहरुको बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई सफल बनाउन आज(शुक्रबार)का दिनदेखि ७५३ वटै स्थानीय तहहरुमा अत्यावश्यक सेवा बाहेक सबै कामकाज पूर्ण रुपमा ठप्प पार्ने निर्णय गरेको हो ।
समितिका महासचिव एवं प्रवक्ता विजय कुमार देवकोटाले सरकारले कर्मचारीको माग पूरा नगरेसम्म अत्यावश्यक सेवा बाहेक स्थानीय तहका सबै कामकाज बन्द हुने जनाएका छन् । उनका अनुसार बैठकले कर्मचारीहरु काठमाडौं आन्दोलनमा सहभागी हुन आउने र कुनै कारण बस काठमाडौ आउन नसकेका कर्मचारीहरुको हकमा पालिका प्राङगणमा उपस्थित भएर हातमा कालो पट्टि बाधेर कालो व्यानरसहित धर्ना बस्ने निर्णय गरेको छ । साथै, देवकोटाले सोही अनुसार गर्न आन्दोलनमा सहभागीलाई अनुरोधसमेत गरेका छन् ।