काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर युवालाई तालिम दिन नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलाई सुझाव दिएका छन् ।
महासंघले आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रममा उनले अहिलेको माग, विशेष आवश्यकता र तत्काल रोजगार सिर्जना गर्ने अवसर कहाँ छ ? सोही कुरालाई मध्यनजर गरेर व्यावसायिक तालिमलाई विस्तार गर्न सुझाव दिए । निश्चित समयावधिलाई मध्यनजर राखेर पाठ्यक्रम बनाएर तालिम दिन सकियो भने धेरै राम्रो हुने उनको भनाइ थियो । ‘नयाँ प्रविधि भित्रिरहेको छ, त्यसलाई पनि मध्यनजर राखेर सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर सम्भावना खोज्दा राम्रो हुनेछ’, उनले भने ।
नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको उनले बताए । उनले भने, ‘ठूलो संख्यामा युवाहरू विदेशिएका छन् । विदेशिएका युवाहरू पनि दक्ष छैनन् । दक्ष हुँदा जति आम्दानी हुन्थ्यो, त्यो अवस्था रहँदैन ।’ उनका अनुसार देशमा शिक्षाको विस्तार भएर तालिम प्राप्त मानव संसाधनको पनि विकास भएका छन् । सरकारकै लगानीमा पनि सीटीईभिटीमार्फत धेरै संस्थाहरू खडा भएको उनले बताए ।
‘वैदेशिक रोजगारसँग जोडिएका तालिमहरू हुन्छन् । गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आफ्नै किसिमले तालिमका कुरा गरिरहेका हुन्छन् । सरकारी निकायले पनि आ–आफ्नो किसिमको तालिम दिइरहेका हुन्छन्’ मन्त्री डा. महतले भने, ‘यसमा धेरै किसिमका डुब्लिकेसन, आवश्यकतालाई मध्यनजर गरिएको हुँदैन, कतिपय कुरा औपचारिक किसिमको हुन्छ । विनियोजित बजेटलाई खर्च गर्न सन्दर्भमा कतिपय त्यस्ता तालिम हुने गर्छन् । जसबाट ठोस परिणाम आउँदैन ।’ देशभित्रै ठूलो संख्यामा मानव संसाधनको अभाव खड्किरहेको भए पनि हरेक मानिसलाई विकल्प रोज्ने अधिकारबाट बञ्चित गर्न नहुने उनको भनाइ थियो ।