काठमाडौँ । पार्टीद्वारा सञ्चालित समाजवाद जागरण अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो औल्याएका छन् ।
शुक्रबार अमलेखगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताको लामो समयदेखिको सङ्घर्षबाट राजनीतिक उपलब्धि प्राप्त भएको भए पनि उनीहरुको आर्थिक विकास तथा सामाजिक सुरक्षा हुन नसकेको बताएको सो पार्टीको सचिवालयले जनाएको छ ।
उनले देश विकास र जनताको आर्थिक समृद्धिको सङ्कल्प पूरा गर्न आफ्नो पार्टी क्रियाशील रहेको जनाउँदै मुलुक रुपान्तरणका लागि सबै जाति समुदायका समस्या समाधान गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
रोजगारी, सुशासन र समृद्धिको नारासहित सुरु भएको अभियानको औचित्यबारे सभामा पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्पष्ट पारे । उनले धार्मिक सहिष्णुता कायम गर्न सबै जाति समुदायको एकताबद्ध हुनुपर्नेमा जोड दिए । देशमा गाउँसम्म वैज्ञानिक समाजवादको जागरण फैलाउनुपर्ने पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले बताए ।
अभियान अन्तर्गत कांकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, इटहरी, इनरुवा, भारदह, राजविराजमा, छिन्नमस्त, जलेश्वर, ढल्केबर, बर्दीबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्जमा सभा गरिएको थियो । यही असोज २९ गते अभियान सुर्खेतमा सम्पन्न हुने छ ।