काठमाडौं । ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को अवसरमा धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको आयोजना तथा अर्थसरोकारको पहलमा सेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिलायन्स कलेज, सरस्वतीनगर, काठमाडौंमा आयोजना गरिएको संघले जानकारी दिएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रूपमा उपस्थित सफल महिला लगानीकर्ताको रूपमा चिरपरिचत लगानीकर्ता दुर्गा तिवारी रिजालले बिरुवामा पानी हालेर गरेका थिए । यस्तैगरी कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रवीन्द्रजङ्ग थापाले व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा सफल सेयर लगानीकर्ता दुर्गा तिवारीले सबै विद्यार्थीहरूलाई विशेष गरी महिलालाई सेयर बजारमा सहभागी हुन आग्रह गर्दै उनीहरूलाई आर्थिकरूपमा स्वतन्त्र हुन सुझाव दिएका थिए । यस्तैगरी कार्यक्रमका सभापति तथा धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले विद्यार्थीलगायत सबैलाई सानो–सानो बचत गर्ने बानी बसाल्न र भविष्यका लागि लगानीमा ध्यान दिन आग्रह गर्दै आजको कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका अध्यक्ष सागर ढकाल, कार्यक्रम संयोजक बलराम राई, सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरी, प्रोपर्टी विजार्ड प्रालिका कार्यकारी अध्यक्ष उद्धव शिवाकोटी, क्यापिटल म्याक्सका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठ, भोलेगणेश सेक्युरिटीजका जनरल म्यानेजर अञ्जीव तुलाधर, रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रवीन्द्रजङ्ग थापा तथा बोर्ड सदस्य निर्देशक नन्दुप्रसाद कुशवाहाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा रिलायन्स कलेजका एक सय ५८ विद्यार्थीहरू र १२ शिक्षक लगायत अन्य ब्रोकर कम्पनीहरूको उपस्थिति रहेको थियो ।